अमेरिकाबासी कांग्रेसीहरुलाई सम्वाेधन गर्दै कोइरालाले गरे देउवाको चर्को आलोचना

डिसी नेपाल
१३ साउन २०७७ १२:४०

वासिंगटन डिसी। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दिनदिनै बालुवाटार धाउने र खल्तीबाट नाम निकालेर संवैधानिक पदमा नियुक्तिको सिफारिस गर्ने गरेको आरोप लगाएका छन्।

अमेरिकामा रहेका कांग्रेस कार्यकर्ताहरुलाई जुलाई २७ सोमबार सांझ(नेपालको समयअनुसार जुलाई २८ विहान) जुम प्रविधिमार्फत सम्वाेधन गर्दै नेता कोइरालाले भने,‘व्यक्तिको खल्तीबाट नियुक्त भएकाहरुले निष्पक्ष काम गर्न सक्दैनन्, निष्पक्ष काम गर्ने व्यक्ति छनौट गर्न व्यापक छलफल हुनुपर्छ।’

व्यक्तिगत फाइदाका लागि सभापति देउवा लागेकाले सरकारले गरेका गलत कामको कांग्रेसले संस्थागतरुपमा दह्रो आवाज उठाउन नसकेको सन्दर्भमा उनले सभापति देउवाको आलोचना गरेका थिए। उनले सभापति देउवामा म मात्रै अघि जाऊँ कांग्रेस कमजोर भए भइरहोस् भन्ने धारणा रहेको बताए।

पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलगायत तीनजना नेतामाथिको कारवाहीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले कांग्रेस कमजोर भएको बेला यस्तो कारवाही गरी अरु पार्टीका मान्छेलाई कांग्रेसको नेता बनाउन लागिएकोले कांग्रेस कुन बाटोमा लाग्दै छ? भन्ने प्रश्न उठेको बताए।

जनसम्पर्क समिति अमेरिकाको विद्रोही समूह भनेर चिनिएको तर आफूलाई मूलधार दावी गर्ने धनञ्जय नरसिंह केसीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथि बनाइएका कोइरालाले सभापति देउवाको खुलेर विरोध गरेका थिए।

उनले सभापति देउवामा म कांग्रेसको सभापति हुँ मेरो बर्चश्व हुनुपर्छ भन्ने लागेको छ तर अवस्था त्यस्तो छैन भन्दै नेविसंघ, तरुणदल, महिला संघजस्ता जनबर्गीय संगठनहरुमा आफ्नो समूह पराजित हुने डरले अधिवेशन नै नगराइएको आरोप लगाए।

अधिवेशनबाट नेतृत्व चुनिंदा आफ्नो गुटको जीत हुन नसक्ने देखेर देउवाले जनवर्गीय संगठनहरुमा आफूले तोकेका ४ जना मान्छे राखेर चलाएको आरोप उनले लगाएका थिए। ‘जहाँ जहाँ अधिवेशन भएका छन्, त्यहाँ सभापति देउवा पक्षधरहरु हारेका छन् त्यसैले अरु संगठनको अधिवेशन नै नगराई मनोनीत गरेर कांग्रेसको महाधिवेशनमा आफू पक्षधर प्रतिनिधि जवर्जस्ती छनौट गर्ने चाहन्छन्,’ उनले भने।

एमसीसीको विरोधमा कम्युनिष्ट

नेता कोइरालाले अमेरिकी सहयतासम्बन्धी परियोजना एमसीसीको विरोधमा नेपालका कम्युनिष्टहरु लागेको तर उस्तै प्रकारको चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरई) बारे चुप लागेर बसेको बताए। ‘बीआरआई चीनको स्ट्राटेजी हो भने एमसीसी अमेरिकाको स्ट्राटेजी हो,’ उनले भने, ‘नेपाली कांग्रेस दुबैलाई सन्तुलित हिसावले लिएर अघि बढ्न चाहान्छ। भारत, चीन र अमेरिकासंग सन्तुलित सम्बन्ध राख्नुपर्छ। अहिले जसरी अघि बढेको छ त्यसले नेपाललाई अप्ठेरोमा पारेको छ।’

उनले भारतसँगको नेपालको सम्बन्ध समस्याग्रस्त बनेको बताउँदै उनले भारतसँग नेपालको वार्ता कसरी अघि बढ्न भन्न गाह्रो भएको बताए। चीनका राजदूत नेकपाका नेताको घर घरमा पुग्ने गरेको अवस्थाबारे पनि उनले अमेरिकामा रहेका कांग्रेस कार्यकर्ताहरुलाई जानकारी दिएका थिए।

प्रधानमन्त्री र सरकारको चर्को आलोचना गरेर बोलेका उनले सरकार भ्रष्टाचारको दलदलमा फंसेको, अख्तियार लगायतका संस्थाहरु सत्ताको स्वार्थअनुरुप चलेको र मुलुकको एउटामात्रै निर्विवाद संस्था नेपाली सेनालाई पनि सत्तास्वार्थमा फसाउने काम सरकारले गरेको आरोप लगाए।

औषधि खरिदमा सेनालाई विवादमा पार्ने काम गरेको उनको भनाइ थियो। सेनाले अव खरिद गर्ने काम गर्न नसक्ने बताइसकेको भन्दै उनले अदालतसमेत पूर्वडिआईजी रन्जन कोइरालाको केसमा गरेको फैशलाले विवादमा परेको बताएका थिए।

बालुवाटार जग्गामा नेकपा नेता जोगाइए

बालुवाटार जग्गा प्रकरणमा कांग्रेस समर्थकलाई छानी छानी मुद्धा चलाएको तर सो प्रकरणका मुख्य मानिसहरु भनिएका नेकपाका नेताहरुलाई दोषी नठहर्याइएको आरोप उनले लगाएका थिए। सरकारी जग्गा कीर्ते गरी व्यापारीको हातमा दिने काममा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल विवादमा आएका थिए। तर, दुबै नेताहरु बारे कुनै पनि निकायले छानविन नगरेकोतर्फ कोइरालाको संकेत थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *