भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन
नेपालगञ्ज। भेरी अस्पताल, नेपालगञ्जमा करिब दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेशिन आजदेखि सञ्चालनमा आएको छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा नवीन दर्नालले मेसिन सञ्चालनमा आएपछि सम्पूर्ण सेवाग्राहीले विशेषज्ञ चिकित्सकको सिफारिसअनुसार सिटी स्क्यान सेवा सहज रुपमा अस्पतालबाट प्राप्त गर्न थालेका जानकारी दिए। उनले मेसिन सञ्चालन गर्न करिब एक महिनाको समयावधि लागेको जानकारी दिँदै अब भारतलगायत अन्यत्र क्षेत्रमा बिरामी जाने बाध्यता हट्ने बताए।
उनले भने, ‘समयमा बिरामीको रोगको पहिचान हुने, उपचारमा सहजता आउने र बिरामीको आर्थिक भारसमेत कम हुने हाम्रो विश्वास छ।’ मेडिकल सुपरिटेण्डेण्ट डा दर्नालले दुई वर्षदेखि सिटी स्क्यान मेसिनको टियुब बिग्रेको र त्यसलाई खरिद गर्न समय लागेको बताउनुभयो। उहाँका अनुसार मेसिन सञ्चालनमा आएपछि आज पहिलो दिन पाँच जनाले सेवा लिएका छन्।
अस्पतालले पछिल्ला दिनमा सेवा विस्तार, सेवा व्यवस्थापनमा सुधार, आधुनिक उपकरण सञ्चालन, विशेषज्ञ सेवाको सुदृढीकरण, बिरामीमैत्री वातावरण निर्माण तथा सेवाको गुणस्तर र अभिवृद्धिका लागि निरन्तर प्रयास गरिरहेको उनको भनाइ छ।
भेरी अस्पताल नेपालगन्जमा प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ। अस्पतालले आर्थिक वर्ष २०८२/८३ मा छ हजार ५९७ जनालाई सुत्केरी सेवा प्रदान गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा पाँच हजार ६०८ जनाले प्रसूति सेवा लिएका थिए। अस्पतालमा चार हजार १४५ जनाले सामान्य प्रसूति सेवा, भ्याकुम/फोर्सेपमार्फत २०५ जनाले र शल्यक्रियामार्फत दुई हजार २४७ जनाले प्रसूति सेवा लिएका मेडिकल सुपरिटेण्डेण्ड डा दर्नालले जानकारी दिए।
सरकारको सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत प्रसूति सेवा र शल्यक्रिया निःशुल्क भएका कारण सेवा लिनेको सङ्ख्या बढेको अस्पतालले जनाएको छ। त्यहाँ कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिलगायत कार्यक्रम सञ्चालन गर्न लागिएको छ। अस्पतालमा प्रसूति सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment