प्रधानमन्त्री ओली पुगे वामदेव निवास भैंसेपाटी

डिसी नेपाल
१३ साउन २०७७ २१:०३

काठमाडौं। पार्टी भित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टी उपाध्यक्ष वामदेव गौतमसँग छलफल गर्न उनको निवासमा पुगेका छन्। मंगलबार साँझ सात बजेपछि प्रधानमन्त्री ओली भैंसेपाटी पुगेका हुन्। ओली महासचिब विष्णु पौडेलसहित भैंसेपाटी पुगेको उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणी सुवेदीले जानकारी दिए।

पार्टीको संकट चरमोत्कर्षमा पुगेका बेला प्रधानमन्त्री स्वयम भैंसेपाटी पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। उनीहरुबीच के कुरा भयो भन्ने विषय भने खुलाइएको छैन। यो समाचार तयार पार्दासम्म मंगलबार बेलुका ९ बजेसम्म भैंसेपाटीमा छलफल चलिरहेकोछ।

मंगलबारका लागि तोकिएको पार्टीको स्थायी कमिटी बैठक अध्यक्ष ओलीले एकलौटी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा ओली इतर समूहले बहुमत स्थायी कमिटी सदस्यको बैठक गरेर ओलीले बैठक स्थगित गर्नु अनुचित भएको निश्कर्ष निकालेको थियो।

त्यसअघि सहमतिको प्रस्ताव भन्दै उपाध्यक्ष गौतमले ६ बुँदे रोडम्याप प्रस्ताव गरेका थिए। उनले पार्टीको संकट टार्न दुबै अध्यक्षले मान्नुपर्ने भनेर गरेको ६ बुँदे प्रस्ताव प्रधानमन्त्री ओलीले दुबै पद छोड्न नपर्ने व्यवस्थाको थियो। गौतमको यो प्रस्ताव सार्वजनिक भएपछि उनी फेरि प्रधानमन्त्री ओलीको लाइनमा उभिएको देखिएको थियो। ओलीलाई अप्ठ्यारो पर्दा सँधै साथ दिँदै आएका गौतम पछिल्ला दिनहरुमा भने प्रचण्ड–माधव समूहसँग निकट देखिएका थिए। तर, मंगलबारबाट उनले ‘यू टर्न’ लिएको नेकपाकै नेताहरुले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *