नेपाल एयरलाइन्स यूएन शान्ति मिसनमा उडान

डिसी नेपाल
१५ साउन २०७७ १२:५१

काठमाडाैं। नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले संयुक्त राष्ट्र सङ्घ (यूएन) शान्ति मिसनका लागि दोस्रो चरणको चार्टर्ड उडान गरेको छ। निगमले यूएन शान्ति मिसन र नेपाली सेनाको सहकार्यमा अफ्रिकी मुलुक दक्षिण सुडानस्थित जुबाका लागि २३८ नेपाली सैनिक लगेको थियो।

निगमको वाइड बडी ए ३३० जहाजले ओमनको मस्कट हुँदै जुबा उडान गरेको हो। जुबाटबाट बन्दाबन्दीले रोकिएका नेपाली सेनाका २५० अधिकारी बुधबार राति काठमाडौँ फर्किएको निगमले जनाएको छ। निगमले यसअघि गत असार २४ गते शान्ति मिसनमा खटिने नेपाली सैनिकलाई लैजान अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो।

आज अन्तर्राष्ट्रियतर्फ छ उडान हुँदैछन्। दक्षिण कोरियाबाट कोरियन एयरले काठमाडौँमा चार्टर्ड उडान गर्नेछ भने हङकङबाट क्याथे ड्रागन र इनचानबाट एशियन एयरको जहाज काठमाडौँ आउनेछ। आजै हिमालय एयरलाइन्सको जहाज कुनमिङमा एक र कुवेतमा दुई उडान हुने विमानस्थल कार्यालयले जनाएको छ।

बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार

नेपाल एयरलाइन्सले भारतको बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार उडान गरी काठमाडौँ ल्याएको छ। उक्त उडान भारतबाट गरिएको पहिलो उद्धार उडान रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ। बैङ्लोर र वरिपरिका क्षेत्रमा रहेका ८० नेपाली विद्यार्थीलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको निगमले जनाएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *