रातो मच्छिन्द्रनाथको जात्रा इतिहासमै पहिलोपटक अन्योलमा

तर्कबहादुर थापा
१६ साउन २०७७ ७:२७

काठमाडौं। करिब १६०० वर्षदेखि निरन्तर मनाइँदै आएको रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा यो वर्ष भने अहिलेसम्म अनिश्चित भएको छ। वैशाख महिनाको अक्षय त्रितीयाका दिनबाट सुरुहुने रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा कोरोनाका कारण अनिश्चित भएको हो।

ढिलै भएपनि रथ तान्नै पर्ने बाध्यता भएकाले साउन १० गते रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइसकिएको छ।  रथमा विराजमान गराईसकेपछिको चौंथो दिनबाट रथ गुड्न सुरु हुनुपर्ने चलन भए पनि अहिलेसम्म रथ गुडेको छैन। सहकालका देवता मच्छिन्द्रनाथ ३३ कोटी देवलाई शान्वना दिँदै रथ गुड्ने प्रतिक्षामा छन्।

रथ तान्न आतुर मच्छिन्द्रनाथका भक्तजनहरु यतिबेला सरकारको आदेशको प्रतिक्षामा छन्। उनीहरु भदौ १ गतेसम्म मात्र प्रतिक्षा गर्न सक्ने बताउँछन्। मच्छिन्द्रनाथको पूजाआजामा व्यस्त पुजारी पूर्णमान शाक्यले भने, ‘मछिन्द्रनाथको रथ तानिदैनन्, जात्रा हुँदैन, रथ बन्दैन भन्ने हुँदैन। जात्रा हुन्छ। कसरी गर्ने त्यो सरकारले गर्ने हो। हामी भदौसम्म पर्खेका छौं। दशैं पहिला जसरी पनि जात्रा सम्पन्न गर्नु पर्छ, जात्रा हुन्छ। रथ गुड्छ।’

मच्छिन्द्रनाथलाई रथारोहण गराएको ४ दिन पछि रथ तान्ने चलनभएपनि सरकारको आदेश विपरित जान नसकिने भन्दै यो वर्षको मच्छिन्द्रनाथको रथ तान्ने जात्रा अनिश्चित भएको गुठी संस्थानका सूचना अधिकारी सरोज थपलिया बताउँछन्।

उनले भने, ‘हामीले ललितपुरका प्रमुख जिल्ला अधिकारी र सरोकारवाला सबै सँग संवाद गरिरहेका छौं। स्थानीयले गरेको मागलाई ध्यानमा राखेर कुरा त भएको छ। तर, कोरोनाका कारण यो वर्ष संभावना कम नै देखिन्छ।’

सरकारले हालसम्म २५ जनाभन्दा बढी भेला हुन नपाउने भन्ने निर्णय फिर्ता नलिएको बताउँदै रथ तान्ने कामका लागि सरकारको निर्णयको प्रतिक्षा गरिरहेको सूचना अधिकारी थपलियाले जानकारी दिए। उनले भने, ‘हाम्रो तयारी पूरा भएको छ। मच्छिन्द्रनाथको रथारोहण गराई सकिएको छ। तर, सरकारले आदेश नदिएसम्म हामी सरकारको आदेशको विपरित जानु हँुदैन। जादैँनौं पनि।’

भदौ १ गतेसम्म मात्र प्रतिक्षा गरिने

गुठी संस्थानले सरकारको आदेशको प्रतिक्षा गरे जस्तै स्थानीयहरु पनि भदौ १ गतेसम्म प्रतिक्षामा रहेका छन्। रथ निर्माण भइसकेपछि र देवता (मच्छिन्द्रनाथ) लाई रथारोहण गरिसकेपछि अनिवार्य रथ तान्ने जात्रा गर्नु पर्ने स्थानीयको भनाइ छ।

‘देवतालाई रथारोहण गराएपछि रथ तान्नै पर्ने हुन्छ,’ ७२ वर्षीया रामेश्वर श्रेष्ठ भन्छन्, ‘रथ तान्नै पर्छ, हामीले सबै कुरा तयार गरेर रथ तानेनौं भने अनर्थ हुन्छ। सकेसम्म त वैशाख मै गर्नु पर्ने हो। हामीले लकडाउन भनेर रोक्यौं। अब त भदौ १ गतेसम्म मात्र हो। त्यसपछि जसरी पनि रथ तान्ने काम हुन्छ।’

इतिहासमै पहिलो पटक यस्तो समस्या आएको उनको बुझाई छ। ‘सुनेको पनि थिएन,’ उनले भने, ‘मेरो यत्रो उमेरसम्म मैले मच्छिन्द्रनाथको रथ रोकिएको छ भन्ने कहिलै सुनेन। १६ सयवर्ष पुरानो यो जात्राले कस्ता कस्ता विपद्हरु सामना गरेको छ र कुनै पनि विपद्मा रोकिएको थिएन र रोकिँदैन।’

मच्छिन्द्रनाथका पुजारी पुर्णमान शाक्य र हेमबज्र बज्राचार्य पनि भदौ १ गतेसम्म कै बाटो हेरेर बसेका छन्। रथमा देवतालाई बसाइसकेपछि चोखो कपडा लगाएर व्रत बस्दै गरेका पुजारीले भने, ‘अब भदौ १ गतेसम्म हेरौं। सकभर त त्यो भन्दा पहिला पनि रथ तान्ने काम हुन्छ होला। तर, भदौ १ गते भनेको अन्तिम मिति हो हामीले भदौ १ गतेबाट रथ तान्न सुरु गरेनौं भने त दशैंसम्म भ्याउँदैनौं।’

१६ सय वर्ष पुरानो संस्कृति

पुजारी पुर्णबहादुर शाक्यले रातो मच्छिन्द्रनाथको रथ तान्ने संस्कृति नेपालमा करिव १६ सय वर्ष पुरानो रहेको बताए। उनले भने, ‘करिब १२ वर्षसम्म पानी परेन, पृथ्वीमा हाहाकार भयो, अनिकाल लाग्यो, त्यो बेलामा भक्तपुरका राजा काठमाडौंका गुर्जु, भक्तपुरका राजा र ललितपुरका ज्यापुले मछिन्द्रनाथलाई ल्याए। अनि सहकाल सुरु भयो र मच्छिन्द्रनाथलाई सहकालका देवता पनि भन्न थालियो। यो करिब १६ सय वर्ष पुरानो नेपालको संस्कृति हो।’

मछिन्द्रनाथलाई वर्षको ६ महिना बुङमती र ६ महिना पाटनमा राख्ने गरेको इतिहास उनले सुनाए। उनले भने, ‘देवता (मच्छिन्द्रनाथ) ६ महिना बुङमतीमा राखिन्छ र ६ महिना पाटनमा राखिन्छ। यो पुरानै चलन हो। लामो हुन्छ इतिहास।’

‘भयो धेरै नबोल, भोको पेटमा बोल्नु हुन्न,’ सँगैका अर्का पुजारी हेमबज्र बज्राचार्य भन्दै थिए, ‘हामी ३ वटा पुजारी हुने गर्छौं। हामी बज्राचार्य समुदायबाट हुन्छौं। उहाँ (शाक्य) शाक्य समुदायबाट हो। र अर्कोपुजारी पनि शाक्य समूदायबाट नै हुने परम्परा छ।’

‘हरेक वर्ष पुजारी फेरिने गर्छन,’ शाक्यले थपे, ‘तर, यो रथ १२ वर्षमा १ पटक मात्र फेरिन्छ। तान्दातान्दै भाँचियो केही भयो भने अर्को कुरा हो। नत्र १२ वर्षको १ पटक रथ फेरिन्छ र सबै काठकै हो।’

रथको कहानी फरक छ
‘यो रथ नौतलाको को छ,’ पुजारी शाक्य सुनाउँदै थिए। ‘यमराज बाहेकका सबै देवता यो रथमा विराजमान हुनुहुन्छ। सबै भन्दामाथि बुद्ध भगवान हुनुहुन्छ। मच्छिन्द्रनाथ उ त्यही (रथको पहिलो तलामा भएका रातो मच्छिन्द्रनाथको तस्वीर देखाउँदै) हुनुहुन्छ।’

रथको लामो भाग नाग र अगाडिको भागमा भगवान भैरवको तस्वीर भएको उनले सुनाए। उनले भने, ‘यो रथको पाङ्ग्रा पनि भैरवकै अंश हो। भैरवले रथ गुडाउन थाले पछि अगाडि नाग लगाए।’ रथको लामो भाग देखाउँदै उनले भने, ‘यो नाग हो। भैरवले यसरी अगाडि नाग लगाएर हिड्न थालेपछि सबै जना डराउन थाले। भगवान भैरव आफै आएर नागको मुखमा बस्नुभयो। (रथको अगाडि राखिएको भैवको तस्वीर देखाउँदै थिए) त्यसपछि यो मुर्ति यसरी राख्न थालिएको हो।’

दशैंसम्म भोटो नदेखाए मच्छिन्द्रनाथमाथि भक्तपुरको अधिकार

मच्छिन्द्रनाथको रथ तान्ने जात्रा दशैंसम्म पाटन पुगेन भने मच्छिन्द्रनाथमाथि भक्तपुरको दाबी हुने भन्ने कुरामा सत्यता रहेको पुजारी शाक्यले दाबी छ। उनले भने, ‘भक्तपुरका राजा, ललितपुरका ज्यापु र काठमाडौंका गुर्जो समुदायका १ जना गएर मछिन्द्रनाथलाई ल्याएका हुन्।

ललितपुरको लगनखेल पुगेपछि देवतालाई कहाँ राख्ने भन्ने कुरा उठ्दा ललितपुरका ज्यापुले यही राख्ने भने, उनको तत्काल नै मृत्यु भयो। पछि राजाले देवता यहीँ छोडे, सायद केही सम्झौताभएको होला। त्यसैले हामीले दशैंसम्म मच्छिन्द्रनाथलाई पाटन पुर्याउन सकेनौं भने भक्तपुरले दाबी गर्छ, जात्रा र मच्छिन्द्रनाथ भक्तपुर पुग्छन्। अस्ति पनि भक्तपुरको १ जनाले गुठीको बैठकमा भन्नु पनि भएको हामीले. लैजाउँ की जात्रा गर्छौ भनेर।’

यो किम्बन्ती भए पनि हालसम्म भक्तपुरले जात्रा र देवतामा हकदाबी नगरेको उनले सुनाए। उनले भने, ‘मलाइ अनुभव छैन। सनेको पनि छैन। हालसम्म त्यो अवस्था आएको छैन र आउँदैन पनि। हामी लागि परेका छौं। भदौ १ गतेबाट सरकारले खुल्ला गरेन भने पनि हामी कसरी हुन्छ। सुरक्षाका उपाएहरु अपनाएर रथ तान्ने काम गर्छौं। वा त खटमा राखेरै भए पनि दशैं अघि मच्छिन्द्रनाथ बुङमती पुग्नुहुन्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *