मकवानपुर-काठमाडौं मिलन समाजको प्रथम अधिवेशन, बलराम फुयाँलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं। मकवानपुर जिल्लाबाट काठमाडौँ उपत्यकामा आई विभिन्न पेसा, व्यवसाय र स्थायी बसोबास गर्दै आएका मकवानपुरेहरूको साझा सामाजिक संस्था ‘मकवानपुर–काठमाडौं मिलन समाज’ को प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। राजधानीमा आयोजित उक्त अधिवेशनले संस्थाका संस्थापक अध्यक्ष बलराम फुयाँललाई नै आगामी दुई वर्षका लागि पुनः अध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।
वरिष्ठ अधिवक्ता बाबुराम दाहालको संयोजकत्वमा गठित निर्वाचन समितिले संस्थाको नयाँ कार्यसमिति चयन प्रक्रियालाई सहजीकरण गरेको थियो। जसअनुसार संस्थाको उपाध्यक्षमा बद्रीप्रसाद आचार्य, सचिवमा केदार पन्त, सहसचिवमा सरिता आचार्य र कोषाध्यक्षमा रश्मी घिमिरे निर्वाचित भएका छन्। त्यसैगरी, सदस्यहरूमा विष्णुदेव भण्डारी, दीपा शर्मा न्यौपाने, देवकुमार अर्याल, अनिताकुमारी दाहाल, उमेश थापा र निर्जल घिमिरेलाई सर्वसम्मत रूपमा चयन गरिएको छ।
मकवानपुरमा जन्मिएका, मकवानपुरलाई कार्यक्षेत्र बनाएका वा प्रत्यक्ष–परोक्ष रूपमा सो जिल्लासँग जोडिएर हाल उपत्यकामा बसोबास गरिरहेका व्यक्तिहरूबीच सद्भाव बढाउने उद्देश्यले यो संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको हो। लामो समयदेखि सम्पर्कविहीन भएकाहरूलाई एकै ठाउँमा ल्याउने, चिनजान गर्ने र भ्रातृत्व विकास गर्ने लक्ष्य राखेको यस समाजले अधिवेशनको अवसर पारेर रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो।
समाजका सचिव केदार पन्तले सञ्चालन गरेको उक्त अधिवेशनमा काठमाडौँमा रहेका मकवानपुरेहरूको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो। सामाजिक कार्य र आपसी एकताका लागि सक्रिय रहने प्रतिबद्धताका साथ अधिवेशन समापन गरिएको छ।







डिसी नेपाल







Facebook Comment