६ महिना कैद हुने आरोप लागेका व्यापारीलाई निर्दोष प्रमाणित हुन ३८ वर्ष लाग्यो

डिसी नेपाल
१६ साउन २०७७ ८:४०

काठमाडौं। बेसारमा मिलावट गरेको आरोप लागेका एक व्यापारीलाई निर्दोष प्रमाणित हुन ३८ वर्ष लागेको छ । भारतको सर्वोच्च अदालतले उनलाई तल्लो अदालतको फैसला कायम राख्दै उनलाई निर्दोष प्रमाणित गरेको छ । सर्वोच्च अदालतले उच्च न्यायालयको फैसला उल्ट्याउँदै उनलाई निर्दोष प्रमाणित गरेको इण्डियन एक्सप्रेसले जनाएको छ । उनीमाथि लागेको आरोपमा उनी दोषी देखिएको खण्डमा उनलाई ६ महिना कैद सजाय हुन्थ्यो तर अदालतमा मुद्दा यति लम्बियो कि अन्तिम फैसला आउन ३८ वर्ष लाग्यो ।

हरियाणाका प्रेम चंद नामका ती व्यापारीको जीवनमा अदालती प्रक्रियाको यो दाउपेच १८ अगष्ट १९८२ मा सुरु भएको थियो । त्यस दिन बिहान ११ बजे उनले १०० ग्राम बेसारको धुलो बेचेका थिए । उनलाई थाहा थिएन बेसार किन्ने ग्राहक खाद्य विभागका अधिकारी थिए । उनले बेचेको बेसारको जाँच भयो र बेसारमा किरा भेटिएको भनेर उनको पसलबाट १० किलो बेसारको धुलो जफत भयो ।

तल्लो अदालतमा यो मुद्दा १४ वर्षसम्म चल्यो । १४ वर्षपछि १९९८ मा तल्लो अदालतले उनलाई निर्दोष ठहर गर्यो । तर, सरकार त्यसपछि पंजाब–हरियाणा उच्च न्यायालयमा पुनरावेदन गर्न पुग्यो । ११ वर्षपछि ९ डिसेम्बर २००९ मा पंजाब–हरियाणा उच्च न्यायालयले प्रेम चन्दलाई मिसावटमा दोषी ठहर गर्यो र ६ महिना कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला गर्यो । त्यसपछि प्रेम चन्द सर्वोच्च अदालत पुगे ।

त्यसको करिब ९ वर्षपछि सर्वोच्च अदालतले प्रेम चन्दलाई निर्दोष ठहर गरेको छ । तर, अदालतको चक्कर लगाउँदा लगाउँदै प्रेम चन्दको जवानी बितिसकेको छ । वृद्धावस्थामा आएको यो फैसलाले अब प्रेम चन्दलाई यत्ति कुरामा सन्तुष्टि छ – मानिसहरु उनका सन्तानलाई बेइमानको सन्तान भन्ने छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *