कोरोना उपचारको सफल नेतृत्व गर्दै भरतपुर अस्पताल

डिसी नेपाल
१६ साउन २०७७ १३:३२

चितवन। चितवनसहित आठ जिल्लाका कोभिड–१९ सङ्क्रमितको सफल उपचार गर्न भरतपुर अस्पताल सफल भएको छ । अस्पतालले हालसम्म ८३ सङ्क्रमितको उपचार गरिसकेको छ।

अन्य अस्पतालमा गम्भीर भएपछि सो अस्पतालमा पठाइएका दुई जना सङ्क्रमितको मृत्यु भएको छ भने १० जना उपचाररत छन्। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालले चितवनका ७६, नवलपुरका १०, मकवानपुरका दुई, नवलपरासीका दुई, कपिलवस्तुका एक र कैलालीका दुई सङ्क्रमितको उपचार गरेको छ। अस्पतालको मातहतमा एउटा प्रयोगशाला र छुट्टै कोरोना अस्पताल रहेको छ। अस्पतालमा १० श्ययाको कोरोना सघन उपचार कक्षसहित १३५ श्ययाको आइसोलेसन रहेको उनले जानकारी दिए।

अस्पतालको प्रयोगशालाले हालसम्म ११ हजार ५७५ को नमूना परीक्षण गरेको छ। पौडेलका अनुसार चितवनसहित १० जिल्लाको स्वाब यहाँ परीक्षण गरिएको थियो। सो क्रममा ३५० जनाको पोजेटिभ नतिजा आएको थियो। स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या ११५ रहेको छ।

भरतपुर अस्पतालबाहेक माडी नगरपालिकामा र रत्ननगरको गुञ्जमान अस्पतालमा रहेको आइसोलेसनमा सङ्क्रमित राखिएका थिए। माडीमा मात्र ३१ जना सङ्क्रमितलाई राखिएको थियो। रत्ननगरमा एक जनाको उपचार गरिएको छ। हाल माडीमा १२ जना सङ्क्रमित उपचाररत रहेका छन्। गम्भीर भएकाको उपचार भरतपुर अस्पतालमा गरिएको उनले बताए।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी भरतपुर अस्पतालको पूर्वतयारीका कारण रोगको सफल उपचार गर्न सकिएको बताउँछन्। टेकुमा पाँच श्यया हुँदा भरतपुर अस्पतालमा ११ श्यया तयार भएको उनी बताउँछन्।

जिल्लामा भरतपुर महानगरपालिकाको अगुवाइमा छुट्टै कोरोना अस्पताल स्थापना गरिएको र त्यसको प्राविधिक पक्षको नेतृत्वदायी भूमिका भरतपुर अस्पतालले गरेको थियो। पछि महानगरले सो अस्पताल भरतपुर अस्पताललाई हस्तान्तरण गरेको थियो।

यही अस्पतालले ७४ वर्षका क्यान्सरको चौथो तहका बिरामीको समेत सफल उपचार गरेको भन्दै उनले एउटा अस्पताल भए पनि त्यहाँभित्रका छुट्टाछुट्टै संरचनाका कारण कोरोना र अन्य बिरामीको उपचार सँगसँगै हुन सकेको जानकारी दिए। अधिकारीले भने, “हाम्रो सावधानीका कारण अस्पताल रोगको हटस्पोट बनेर सिल गर्नु परेन।” अस्पतालको ए ब्लकको भुई तलामा छुट्टै व्यवस्थित ढङ्गबाट सङ्क्रमित राखिएको छ। अहिलेसम्म चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी कसैलाई पनि कोरोनाको सङ्क्रमण देखिएको छैन।

यहाँ कोरोना सङ्क्रमणको जोखिम बढी हुने भएकाले सात महिनाअघिनै माहामारी नियन्त्रणको पूर्वतयारी शुरु गरिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी बताउँछन्।

अस्पतालले रोगका बारेमा अध्ययन गर्न दुई जना फिजिसियन खटाएको थियो। सबै कर्मचारीलाई रोगबारे जानकारी दिने र बुझाउने उनीहरुको जिम्मेवारी थियो। अस्पतालले शुरुआती देखिनै ज्वरो, रुघाखोकीका बिरामीलाई छुट्टै बहिरङ्ग टिकट काट्ने ठाउँको समेत व्यवस्था गरेको थियो। पुसदेखि पूर्वतयारी थाले पनि वैशाख ५ गते मात्र पहिलो सङ्क्रमित भर्ना भएको तिवारीले जानकारी दिए।

अस्पतालले डा प्रमोद पौडेलको संयोजकत्वमा विभागीय प्रमुखसहितको १५ सदस्यीय टोली बनाएर सङ्क्रमितको उपचार गराइरहेको छ। तिवारी भन्छन्, “सबैको साथ र सहयोगका कारण भरतपुर अस्पताल हालसम्म कोभिड उपचारमा सफल भएको छ।” निजी अस्पतालले सङ्क्रमण देखिना साथ भरतपुर अस्पताल बिरामी पठाउने गरेका छन्। शुरुका दिनमा निजीमा लक्षण देखिएका बिरामी पनि सरकारी अस्पताल पठाउने गरेका थिए।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई कोरोना उपचारमा भरतपुर अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँछन्। त्यहाँ उपचाररत बिरामीको निको हुने दर राम्रो भएको, सङ्क्रमितको उपचार हुँदाहुँदै पनि सुरक्षित ढङ्गबाट बहिरङ्गका बिरामीको उपचार गरेको भट्टराईले बताए।

बहिरङ्ग सेवा दिन अस्पताल व्यवस्थापनले हतारो गरेको भए पनि बिरामीले शुरुशुरुका दिनमा सेवा नपाएर निजीमा जानुपरेको पक्ष सकारात्मक नभए पनि अस्पतालले गरेका समग्र गतिविधि प्रशंसनीय रहेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *