मलेसियामा नेपाली सुरक्षागार्ड कुट्ने नेपाली नै भएको पुष्टि, प्रहरीले पक्राउ गर्‍यो

बिनेश खनाल
१९ साउन २०७७ १४:५३

काठमाडौं। मलेसियामा नेपाली सुरक्षागार्ड कुट्ने व्यक्ति नेपाली नै भएको पुष्टि भएको छ । मलेसियास्थित नेपाली दूतावासले पीडक नेपाली नै भएको र उनलाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार पक्राउ परेका व्यक्तिमाथि कारवाही अगाडि बढाइएको छ र कुटाइ खाने पीडित नेपाली दूतावासको संरक्षणमा छन् ।

पछिल्ला केही दिनयता सामाजिक संजालमा एउटा भिडियो भाइरल भइरहेको थियो । भिडियोमा एक व्यक्तिले युनिफर्ममा रहेका सुरक्षागार्डलाई कुटपिट गरेको देखिएको थियो । भिडियो भाइरल भएपछि नेपाली दूतावासले उजुरी गरेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । कुट्ने नेपाली नेपालको कपिलवस्तु जिल्लाका रामगोपाल मुराउ भएको राजदूत पाण्डेले डिसी नेपाललाई बताए। उनका अनुसार पीडित नवलपरासी जिल्लाका इस्लाम हुसेन हुन् ।

राजदूत पाण्डेका अनुसार पीडित र पीडक दुवैजना त्यहाँ अवैधानिक हैसियतमा छन् । ‘यहाँको अध्यागमन विभागका अनुसार उनीहरु दुवैजना गैरकानुनी हैसियतमा छन्,’ उनले डिसी नेपालसँग भने, ‘पीडकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । अब प्रहरीले यहाँको नियमअनुसार कारवाही प्रक्रिया अगाडि बढाउनेछ ।’

पाण्डेका अनुसार यो घटना गत ७ जुलाइ बिहान १० बजे क्वलालम्पुरमाा रहेको एम थ्री मलमा भएको हो । भिडियो एकाएक सामाजिक सञ्जालमा भाइरल भएपछि दूतावासले सुरक्षा गार्डहरुको छाता संगठन पिआइकेएममा छानबिनको माग गर्दै अपिल गरेको थियो । सेक्युरिटी एसोसिएशनले ३१ जुलाइमा प्रहरीमा उजुरी गरेको थियो ।

प्रहरी तथा दूतावासमक्ष पीडक रामगोपाल मुराउले हुसेनको ड्यूटीमा आचरण ठिक नभएका कारण आवेशमाा आएर कुटेको बयान दिएको राजदूत पाण्डेले बताए । मुराउले घटना हुनु केही दिनअघि हुसेनले ड्यूटीमै रहेको बेला महिलाहरुमाथि गालीगलौज तथा दुर्व्यवहार गरेको बयानमा दाबी गरेका छन् । सोही कारण आफूले हुसेनमाथि हातपात गरेको मुराउले बयान दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *