कोरोना कहर: स्थिति नियन्त्रण बाहिर गए पुन: लकडाउन !

तर्कबहादुर थापा
१९ साउन २०७७ १६:१३

काठमाडौं। सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन साउन ७ गते औपचारिक रुपमा अन्त्य भएको छ। कोरोना संक्रमणको जोखिम कम भएको भन्दै सरकारले साउन ७ गते लकडाउन अन्त्य भएको औपचारिक घोषणा गरेको हो।

लकडाउन अन्त्य भएपछि सर्वसाधारणले स्वास्थ्य सम्बन्धी मापदण्डलाई व्यवास्ता गरेपछि संक्रमणको जोखिम कायमै रहेको जनस्वास्थ्य विद्हरुले बताउँदै आएका छन्।

पछिल्लो समयमा कोरोनाका बिरामीहरु बढ्दै गएपछि सरकारलाई लकडाउन गर्न दवाब पनि बढेको छ भने अर्को तिर लकडाउन हुँदा समस्या पर्ने आवाज पनि उठ्दै आएको छ।

जनता सचेत नभए लकडाउन हुनसक्छ :  सचिव गुरागाँई

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)का सचिव महेन्द्र गुरागाईँ भने जनता सचेत नभएको अवस्थामा लकडाउन फेरि हुनसक्ने बताउछन्। उनले पछिल्लो समय सर्वसाधारणले कोरोनाबाट बच्ने स्वास्थ्य सम्बन्धी मापदण्ड नअपानाइएको अवस्थामा लकडाउन हुनसक्ने संकेत गरेका छन्।

‘तीव्र परीक्षण भइरहेको छ। अहिलेसम्म बाहिरबाट आएकाहरुमा कोरोना भेटिने गरेको छ,’ सचिव गुरागाईँले डिसी नेपालसँग भने, ‘हामीले कन्ट्याक्ट ट्रेसिङ पनि तीव्र बनाइरहेका छौं। सर्वसाधारणले स्वास्थ्यका मापदण्ड अपनाउन गरेको हेलचेक्र्याँईले पुनः कोरोनको दर बढ्ने संकेत देखिएपछि लकडाउन नगरी नहुन पनि सक्छ।’

सचिव गुरागाँइले अहिले पुनः लकडाउनका बारेमा सरकारले छलफल चलाइरहेको बताएका छन्। उनले २÷४ दिनको रेकर्ड हेरेर केही निर्णय लिन सकिने संकेत गरेका छन्।

उनले भने, ‘अझै पनि लामो दूरीका यातायात खोलेका छैनौं। जति पनि काठमाडौंमा बाहिरबाट भित्रिए उनीहरुमा कोरोनाको लक्षण देखिएको छ। अझै पनि समुदाय स्तरमा कोरोना गएको छ भन्न सकिने अवस्था छैन। समुदायमा कोरोना नगएका कारण अझै पनि हामीले निश्चित जिल्लालाई सिल गरेर हुन्छ भन्ने विषयमा छलफल गरिहेका छौं। तर, हामी सचेत रहेनौं भने पुनः लकडाउन हुन सक्छ।’

केही सञ्चार माध्याममा आएका समाचारका आधारमा सार्वजनिक यातायातलाई पनि निगरानी गर्दै आएको उनले बताए। उनले भने, ‘हामीले सञ्चारमाध्याममा आएका समाचारलाई आधार मानेर सार्वजनिक सवारी साधनलाई छड्के चेक गरिरहेका छौं। भेटेका त छैनौं। तर, म के अनुरोध गर्न चाहन्छु भने, हामी प्रत्यकले आफूलाई कोरोनाबाट बच्ने उपाय अपनाएर अगाडि बढौं लकडाउन गर्न पर्दैन।’

लकडाउन गरेरमात्र रोग निको नहुँने सचिव गुरागाईँले बताए। उनले लकडाउन गर्नुको साटो हामी आफैं आफ्नो तर्फबाट व्यक्तिगत रुपमा नै कोरोबाट बच्ने उपाएहरु अपनाउन सकिने र लकडाउनको आवश्यक नपर्ने बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनको कहर कायम रहेकाले सर्वसाधारणलाई भिडभाडमा नजान, मास्कको सधैं प्रयोग गर्न, सेनिटाइजर लगाउन र स्वास्थ्य सम्बन्धी अरु मापदण्डलाई पालना गर्न आग्रह गरिरहेको छ।

लकडाउनको अन्त्य भएको साउन ७ गते ३ हजार ७ सय ७९ पीसीआर परीक्षण गरीएकोमा १०० जनामा संक्रमण पुष्टि भएको छ। सोही दिन २ जनाको कोरोनाकै कारण ज्यान गएको छ भने २०७ जना कोरोना संक्रमण मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार साउन ८ गते ३ हजार ४ सय ८१ पीसीआर परीक्षणबाट १ सय ४७ जना कोरोना संक्रमित भएका छन। ९ गते १ सय ३३ जना संक्रमित भेटिएका छन्।

यस्तै, साउन १० गते १०९, ११ गते १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ गते १ सय ३९ जनामा, १३ गते ३११ जनामा, १४ गते २१० जनामा, १५ गते २७४ जनामा र १६ गते २४४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  यस्तै, मन्त्रालयको तथ्यांक अनुसार साउन १७ गते ३१५ जनामा, १८ गते २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *