भक्तपुरमा विना घिन्तान्गिसीको गाइजात्रा सुरु (फोटोफिचर)

डिसी नेपाल
२० साउन २०७७ १५:२१

भक्तपुर। भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्तान्गिसी नाच (लाठी जुधाएर खेलिने नाच) हो। हजारौं टोलीहरुले नगरभरी दिनभर लाठी जुधाएर यसको प्रदर्शनी हुन्छ। टोलीले भक्तपुर नगर परिक्रमा गर्ने गर्दछ। वर्षभरीमा मृत्यु भएका परिवारको तर्फबाट एकएक टोली नाच नाचेर नगर परिक्रमा गर्ने गर्दछन्।

आज मंगलबार भक्तपुरमा विना घिन्तान्गिसीको गाइजात्रा सुरु भएको छ। आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्रा पर्व सुरु भएको छ। तर यहाँंको गाइजात्रा यो वर्ष कोरोनाका कारण औपचारिकतामा मात्रै सीमित हुँंदैछ। जात्राको क्रममा घिन्तान्गिसी नाचका साथ अन्य नाचहरु प्रदर्शन भएनन्।

जात्राका क्रममा मृत्यु भएका परिवारबाट घिन्तान्गिसी नाच नचाई दुई चार जनाको समूहमा मात्रै नगर परिक्रमा गराइएको छ। साथै जात्राका अन्य दिनहरुमा पनि नाचगान नहुने जनाइएको छ।

यस पर्वमा दिवंगत आत्माको मोक्षको प्राथना गरिन्छ। यस दिन गाईको प्रदर्शनले मृतकको आत्मालाई गाईको मद्दतबाट यमलोकमा प्रवेश हुने जनविश्वास रहँदै आएको छ। यो जात्रा लिच्छवीकालमा चलेको जात्राकै एक विकशित रूपमा मानेता पनि केहि किमदंतीहरुले चाही यसको उतपत्ति मध्यकालमा भएको देखिन्छ। भक्तपुरमा ९ दिन मनाइने यो जात्रालाई नेपालभाषामा गुन्हु पुन्ही (नौदिने पूर्णिमा) पनि भनिन्छ। जनै पूर्णिमाको दिन तलेजुको घिन्ताङघिसी निकाले पछि मात्र सर्वसाधारणले घिन्तान्गिसी निकाल्न पाइन्छ।

कोरोनाका कारण भक्तपुर नगरपालिकाले यस वर्षका जात्रा औपचारिकतामा मात्रै सीमित गर्न नगरपालिकाले नगरबासीलाई अनुरोध गर्दै आएको छ। जात्रालाई अन्य वर्षहरुमा जस्तो हुल नबनाउन नगरपालिकाले यो वर्ष स्वयमसेवक परिचालन गर्ने भएको छ। जात्रा भीडभाड नहोस् भन्ने उद्देश्यका साथ नगरको वडा नं १ देखि १० सम्मकै सम्पूर्ण वडाहरुमा स्वयमसेवक परिचालन हुने भएको हो। परापूर्वकालदेखि सौहार्दपूर्ण रुपमा चल्दै आएको जात्रा स्वयमसेवक परिचाल हुन लागेको सम्भवत यो पहिलो पटक हो।

गाईजात्राको दिनमा सरसफाईमा विशेष ध्यान दिने नगरपालिकाले जनाएको छ। नगरका मुख्य मुख्य सडक र गल्लीहरुमा क्लोरिन पानी छर्कने, जात्रा हेरालुहरुलाई मास्क प्रयोग गर्न उत्साहित गर्ने र वडाका ठाउँ–ठाउँमा साबुन पानीले हात धुने व्यवस्था भक्तपुर नगरपालिकाले गर्ने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *