सुनको भाउ प्रतितोला एक लाख रुपैयाँ नाघ्यो

डिसी नेपाल
२१ साउन २०७७ ११:३९

काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख रुपैयाँ नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ ।

मंगलबार प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम रहेको सुन बुधबार एकैदिन एक हजार ६ सय रुपैयाँ महंगो भएको हो ।

विश्व बजारमा सुनको भाउ लगातार बढिरहेकाले त्यसको प्रभाव नेपाली बजारमा समेत परेको महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताए । ‘विश्व बजारमा सुनको भाउ लगातार बढिरहेको छ’ उनले भने, ‘त्यसैले बजारमा सुनको भाउ अझै महंगो हुने सम्भावना छ ।’

विश्वमा कोभिड–१९ को महामारी सुरु भएसँगै सुनको भाउ लगातार उच्च भइरहेको छ । डलर र तेलको भाउमा आएको गिरावटसँगै लगानीकर्ताहरुले सुनमा लगानी गरेपनि भाउ महंगो भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार २३.७४ डलर पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । मंगलबार बिहान प्रतिऔंस १ हजार ९७४.४५ डलर थियो ।

बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबारको तुलनामा ६५ रूपैयाँ बढ्दै चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ पुगेको छ ।

सुन महंगिदा बजारमा नयाँ गरगहनाको बिक्री ठप्प छ । बजारमा नयाँ खरिद भन्दा बिक्री गर्ने ग्राहकहरुको चाप छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *