विद्युत प्राधिकरणद्धारा स्मार्ट मिटर जडान सुरु

डिसी नेपाल
२५ साउन २०७७ १४:११

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ। आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बूढानिलकण्ठ–९को वडा कार्यालय मंडिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरेका हुन्।

मुलकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा प्राधिकरणले पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरुको सिंगल फेज र थ्रि फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने योजना राखेको छ।

स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नु पर्ने छैन। विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबार्ट मिटर रिडिङ गर्न सकिने र विल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिने छ। मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुने छ। कसैले मिटर बाइपास गरी विद्युत चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुने छ।

स्मार्ट मिटरमा एकीकृत लोडमात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमाण्ड चुहावट नियन्त्रण हुने प्राधिकरणले जनाएको छ।
कार्यक्रममा मन्त्री पुनले सरकारले राज्यका निकायको सेवा आधुनिकरण र चुस्त बनाउन आवश्यक भएको बताए।

उनले संघीय राजधानीलगायत मुलुकका मुख्यमुख्य सहरमा विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सहरी सौन्दर्यता बढाउन र प्रणालीलाई विश्वसनीय तथा भरपर्दो बनाउन काम गरिरहेका बताए।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा २ हजार ५ सय देखि ३ हजारसम्म कर्मचारीको खर्च कम हुने बताए।

‘स्मार्ट मिटरमा हरेक घण्टाको महसुल फरक–फरक कायम गर्न सकिने हुँदा पिक, अफ पिक र नर्मल समयमा ग्राहकको फरक–फरक महसुल तोक्न सकिने छ, साथै अव चाँडै वर्षायाममा बढी विद्युत उत्पादन हुँदैछ, त्यसको खपत बढाउन सस्तो महसुल कायम गर्न सकिन्छ भने हिउँदयामको महसुल पनि फरक तोक्न सकिने छ’,उनले भने।

प्राधिकरणले पहिलो चरणमा देशभरका ८ हजार २ सय २२ टाइम अफ डे (टिओडी) मिटरहरुलाई स्मार्ट बनाइसकेको छ। दोस्रो चरणमा देशभरका करिब १ लाख २५ हजार थ्रि फेज होल करेन्ट मीटरहरुलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम भइरहेको छ।

यस्ता करिब १८ हजार मीटर जडान भइसकेका छन्। ६० हजार मिटर जडान भइरहेको छ। नयाँ थ्रि फेज मिटर सबै नै स्मार्ट जडान हुँदै आएको छ। स्मार्ट मिटरको प्रभावकारी प्रयोगका लागि आवश्यक ‘कम्युनिकेसन व्याकबोन’ काठमाडौं उपत्यकाभरीलाई हुने गरी जडान गरिने छ। यसको र सिंगल फेज स्मार्ट मिटर जडानको लागत करिब १ अर्ब रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *