खानेपानीको मूल्य निर्धारण, जारको ५० र बोतलको १६ रुपैयाँ

डिसी नेपाल
२६ साउन २०७७ १७:४८

काठमाडौं। सरकारले खानेपानीको खुद्रा मुल्य निर्धारण गरेको छ। बजारमा जथाभावी मूल्य लिएको गुनासो बढेपछि बाणिज्य विभागले व्यवसायीसँग छलफल गरी अधिकतम मूल्य तोकेको हो।

विभागले जारको पानीको प्रतिजार ५० रुपैयाँ र बोतको प्रतिबोतल १६ रुपैयाँ अधिकतम मूल्य तोकेको हो। अब व्यवसायीहरुले अधिकतम भन्दा बढी मूल्यमा पानी बिक्री गर्न पाउने छैनन्।

हाल बजारमा बोतलको पानीको खुद्रा मूल्य २५ रुपैयाँ र जारको खुद्रा मूल्य ८० रुपैयाँसम्म रहेको छ।

विभागले तोकेको मूल्य काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेमा लागू हुनेछ। उद्योगहरुले निर्यात गर्नका लागि उत्पादन गरेको शिलवन्दी पानीको हकमा भने यो मूल्य लागू नहुने विभागले जनाएको छ।

विभागद्वारा गत असार २५ गते पानीको समर्थन मुल्य तोक्नका लागि निर्देशक सागर मिश्रको संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत इश्वर सुवेदी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजन, नेपाल बोटलर्स वाटर एसोसिएशनका महासचिव धु्रव बहादुर गौतम र बाणिज्य विकागका अधिकृत धु्रव खनाल सदस्य सचिव रहेका थिए।

समितिले २१ वटा उद्योगहरुको स्थलगत अध्ययन गरी मूल्य सिफारिस गरेको थियो। समितिले दिएको सिफारिसका आधारमा विभागले मूल्य निर्धारण गरेको हो।
यसैगरी प्रशोधित पानी प्रतिजार डिस्ट्रीब्यूटर मूल्य ३५ रुपैयाँ र पानी १ लिटर बोटल प्रति कार्टुनको डिस्ट्रीब्यूटर मूल्य भने १३० रुपैयाँ कायम गरिएको विभागले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *