गुट-गुटकै पक्ष पोषण गर्छन् कांग्रेसका युवा नेता, को के भन्छन् ?

खेमराज थापा
२९ साउन २०७७ ७:२७

काठमाडौं। देशकै पुराना पार्टी नेपाली काँग्रेस इतिहासकै दुरावास्थामा छ। देशका केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारमा अति न्यून उपस्थितिमा सीमित भएको कांग्रेसमा नेतृत्वका लागि भने पुरानै अनुहारहरु हानाथाप गरिरहेका छन्।

र, तिनै पुराना नेताका पक्ष र विपक्षमा युवाहरु विभाजित छन् र एकले अर्को गुटप्रति आक्रोश पोख्दै गुटबन्दीलाई अझ चर्काइरहेका छन्। काँग्रेस १४ औं महाधविशेनको पहिलो खुड्किलो तथा आधार क्रियाशील वितरण तथा नविकरणको प्रक्रियामा हुँदा आगामी नीति र नेतृत्वबारे आआफ्ना गुटका प्रचार बढाएका छन्।

खासगरी सभापति शेरबहादुर देउवासमूह र देउवाइतर समूहबीच नै आगामी महाधिवेशनमा नेतृत्वका लागि प्रतिष्प्रर्धा हुने प्रायःनिश्चित छ। यी दुबैतर्फ रहेका नेताहरु आ–आफ्नो तर्क नै सही भएको जिकिर गर्छन्। दुवतर्फ रहेका केही युवा तथा प्रभावशाली नेताहरुले महाधविशेनमा कस्तो भूमिका निर्वाह गर्छन्? डिसी नेपालले केही नेताहरुको विचार बुझ्ने प्रयास गरेको छ।

‘बूढो भयो भन्दैमा चुनावमा जानबाट रोक्न मिल्दैन’

डा. प्रकाशशरण महत, सहमहामन्त्री , नेपाली कांग्रेस

सभापति देउवा निकट मानिएका पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतले आगामी महाधिवेशनले आमजनतामा उत्साह र ऊर्जा दिन सक्नुपर्ने बताए। उनले डिसी नेपालसँग भने, ‘महाधिवेशनले आम कार्यकर्ता र जनतालाई उत्साह दिन सक्नुपर्छ। त्यसका लागि हामीले नीति र नेतृत्वबारे व्यापक बहस गर्नुपर्छ।’

नेतृत्वको विषयमा डिसी नेपालले युवाहरुलाई अगाडि बढाउनु हुन्छ भन्ने प्रश्नमा डा. महतले भने, ‘युवा भन्दैमा उनीहरुलाई रिर्जभ गरेर नेतृत्व दिन सकिँदैन। सिस्टम बनाउने कुरा हो। हामीले सिस्टम बनाएका छौं। सबै पदमा खुल्ला निर्वाचन हुन्छ। कसैले चुनाव जितेर आउछ भने रोक्ने कुरा भएन। तर, तँ बुढो भइस् अब तँ चुनाव लड्न पाउँदैनस् भन्ने हुँदैन। हामीले सबै पदमा चुनाव गराउने भनिसकेपछि चुनाव लड्ने सबैको अधिकार छ।’

महाधिवेशनको तयारी धमाधम हुँदा आगामी महाधिवेशनमा नेतृत्व लिन सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य प्रकाशमान सिंह र डा. शेखर कोइराला तथा कृष्णप्रसाद सिटौला कस्सिएका छन्। देउवाको विकल्पमा अर्को व्यक्ति सो समूहबाट सभापतिको उम्मेदवार बन्ने सम्भावना लगभग छैन ।

उनले नीतिलाई लागू गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताए। तर, वर्तमान नेतृत्वको विकल्प खोज्ने विषयमा भने उनी देखिएनन्। उनले भने, ‘पक्कै पनि नीति लागू गराउन सक्ने, जनतामाझ कुरा पुर्याउन सक्ने राम्रो वक्ता पनि चाहिन्छ। तर, सबैकुरा बोलेरमात्र हुँदैन । सामूहिक नेतृत्व हुनुपर्छ।’

नेता डा. महतले पार्टीमा गुटबन्दी भएकाले पनि समस्या भएको बताए। उनले काँग्रेसले अहिले सबै पदमा निर्वाचन गर्ने व्यवस्था गरेको भन्दै त्यसले गुटबन्दी झन मौलाउन सक्ने जोखिम रहेको बताए।

डा. महत त अहिले काँग्रेस कमजोर रहेको पनि स्वीकार गर्न तयार भएनन्। जबकि स्थानीय तह, प्रदेश र संघीय संसदमा काँग्रेसको उपस्थिति दयनीय छ। यतिमात्र होइन देशको जल्दाबल्दा मुद्दाहरुमा काँग्रेसको स्वर गौण बन्दै गइरहेको छ। डा. महतले भने, ‘काँग्रेस कमजोर छैन। गएको चुनावमा गठबन्धन गरेर सबै दल एकातिर भएपछि हामी प्राविधिक रुपमा संसदमा कम देखिएका हौं पहिलाको चुनावभन्दा गएको चुनावमा काँग्रेसले पाएको मतप्रतिशत धेरै छ।’

‘कांग्रेस ठीक ढंगले चलेन, अव डाइनामिक नेतृत्व’

धनराज गुरूङ केन्द्रीय सदस्य, नेपाली कांग्रेस

देउवाइतर समूहका एक प्रभावशाली युवा नेता धनराज गुरुङले काँग्रेसको आगामी महाधिवेशन काँग्रेसका लागि मात्र नभएर आम नेपालीका लागि महत्वपूर्ण रहेको बताए। उनले काँग्रेस महाधिवेशनले देशमा परिवर्तनको महसुस हुने गरी सन्देश दिनुपर्ने आवश्यकता रहेको बताए।

उनले डिसी नेपालसँग भने, ‘देशमा जति राजनीतिक परिवर्तन भए पनि प्रबृत्तिमा परिवर्तन नहुँदा जनताले ठगिएको महसुस गरेका छन्। हामीले यो महाधिवेशनबाट काँग्रेस सुधारिएर आयो, देश विकासका लागि यसले नेतृत्व लिन सक्छ भन्ने जनतामा सन्देश दिनुपर्नेछ । त्यसैले काँग्रेसले राजनीतिकमात्र होइन सामाजिक नीति पनि बनाउनुपर्छ।’

उनले देशमा व्याप्त भ्रष्टाचारका कारण आमजनतामा निराशा आएको भन्दै काँग्रेसले भ्रष्टाचारलाई निमुल पार्ने गरी नीति र नेतृत्व छनौट गर्नुपर्ने बताए।
उनले वर्तमान नेतृत्वबाट काँग्रेस ठीक ढंगले चल्न नसकेको भन्दै आगामी महाधिवेशनले डाइनामिक नेतृत्व पनि चयन गर्नुपर्ने बताए। उनले आफूहरुको भूमिका त्यसैका लागि हुनेसमेत बताए।

‘अहिलेकै नेतृत्व सफल छ’

महेन्द्र यादव केन्द्रीय सदस्य, नेपाली कांग्रेस

सभापति देउवानिकट केन्द्रीय सदस्य महेन्द्र यादव भने काँग्रेसमा अहिले नै नेतृत्वको विकल्प खोज्नुपर्ने बेला भइनसेको बताए। उनले कुनै पनि युवा अहिले नै नेतृत्व गर्नसक्छु भनेर अगाडि बढ्न सक्ने अवस्था नरहेको बताए।

यादवले काँग्रेसको वर्तमान नेतृत्व नै सफल रहेकोसमेत दावी गरे। तराईबाट समेत प्रतिनिधित्व गर्ने नेता यादवले तराईबारे काँग्रेसले कस्तो कार्यक्रम ल्याउँछ भन्ने प्रश्नमा भने, ‘हामीले तराईबारे छुट्टै कार्यक्रम ल्याउनुपर्ने अवस्था छैन। खाली हामीले पहिला गरेका कामहरुबारे जनतालाई भन्न सके पुग्छ। र, विकास काँग्रेसले नै गर्न सक्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ। तराई केन्द्रित दलहरुका भ्रष्टाचारमा लिप्त छन्। त्यसैले आगामी निर्वाचनमा तराईमा काँग्रेसले जित हासिल गर्छ।’

‘अव परम्परागत गुट भत्किन्छन्’

प्रदीप पाैडेल केन्द्रीय सदस्य, नेपाली कांग्रेस

कुनैबेला नेता कृष्णप्रसाद सिटौलानिकट मानिएका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी महाधिवेशनमा पार्टीका परम्परागत भत्किने बताए। उनले डिसी नेपालसँग भने, ‘अब परम्परागत गुटको पछाडि लागेर हुने अवस्था छैन। हामी नीति र कार्यक्रम हेरेर नेतृत्व चयनमा लाग्छौं । परम्परागत गुट भत्किन्छन्।’

उनले काँग्रेसले नै देश विकासको नेतृत्व लिन सक्छ भन्ने सन्देश आम जनता र कार्यकर्तालाई दिन आगामी महाधिवेशन सफल हुनुपर्ने बताए। उनले नीति र नेतृत्वबारे काँग्रेसमा व्यापक छलफल गर्नुपर्ने अवस्था रहेको बताए।

देउवाका देउवातिरै अरु अन्यौलमा
महाधिवेशनको तयारी धमाधम हुँदा आगामी महाधिवेशनमा नेतृत्व लिन सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य प्रकाशमान सिंह र डा. शेखर कोइराला तथा कृष्णप्रसाद सिटौला कस्सिएका छन्।

देउवाको विकल्पमा अर्को व्यक्ति सो समूहबाट सभापतिको उम्मेदवार बन्ने सम्भावना लगभग छैन । तर, देउवाइतर समूहका सबै नेताहरुले एउटै उम्मेद्वार बनाएर जान्छौ भने पनि सबै आ आफ्नै तयारीमा लागेका छन्। त्यसको प्रभाव युवा नेताहरुमा पनि परेको छ। देउवानिकटका युवा नेताहरु देउवाको विकल्प छैन भनेर अगाडि बढिरहेका छन् भने देउवाइतर समूहका युवा नेताहरुले ‘छलफलमै छौं’ भन्ने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *