मानव तस्करी र अख्तियारी दुरुपयोग आरोपमा एनआरएनए यूएईका ३ पदाधिकारी निलम्बित

डिसी नेपाल
३० साउन २०७७ १२:०४

काठमाडौँ । मानव तस्करहरुसँग साठगाँठको आरोप लागेपछि एनआरएनए यूएईले आफ्ना केही पदाधिकारीहरुलाई निलम्बन गरेको छ । यूके पठाइदिन्छु भनेर यूएई लगेर अलपत्र पारिएका दुई युवालाई ‘दलाल’ले उल्टै गुण्डा लगाइ मरणसन्न हुनेगरी कुटपिट गरेको विवादमा आफ्ना पदाधिकारी मुछिएपछि एनआरएनए यूएईले तीन जनालाई निलम्बन गरेको हो।

बिहीबार एनआरएनए एनसीसी यूएईका अध्यक्ष प्रकाश कोइरालाले एक प्रेस विज्ञप्ति जारी गर्दै कुटपिटमा संलग्न भएको आरोप लागेका एनआरएनए दुबई क्षेत्रका क्षेत्रीय अध्यक्ष भीम मल्ल ठकुरी र उपाध्यक्ष निराजन खत्रीलाई अनुसन्धान नसकिँदासम्मको लागि निलम्बन गरेको जनाएका छन् । त्यस्तै पीडितहरु कुटिएको विषयमा संस्थाको निर्णयबिना एकलौटी ढंगले विज्ञप्ति जारी गरेको आरोपमा एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष नरबहादुर सेनलाई समेत निलम्बन गरिएकाे छ ।

रोजगारीको लागि बेलायत पठाइदिन्छु भन्दै मानव तस्करहरुले भिजिट भिसामा यूएई पुर्याएर नेपालीहरुलाई अलपत्र पारेपछि यो काण्डमा तस्करहरुसँग एनआरएनए दुबईका पदाधिकारीको समेत संग्लनता रहेको पीडितहरुले आरोप लगाएका थिए । रामेछापका टिकाराम बोहोरा, मनोहर केसीसहित ६३ जना नेपालीहरुकलाई यूके जाने सपना देखाएर यूएईमा लगेर अलपत्र पारिएको थियो । काठमाडौंमा रहेको तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालिकी जनसम्पर्क अधिकृत सिर्जना अधिकारी र दुबई बस्ने श्याम थापालाई प्रतिव्यक्ति ९ लाख बुझाएको पीडित मनोहर केसीले डिसी नेपालसँग बताएका थिए ।

उनीहरुलाई सुरुमा बेलायतमा रोजगारीका लागि १ महिनाको तालिम लिनुपर्ने बताइएको थियो। तालिम दुबईमा दिइने भन्दै भिजिट भिसामा त्यहाँ पुर्याइयो। पछि कोरोना महामारीले गर्दा बेलायत पठाउन नसकिने भन्दै यूएईमा रहेका नेपाली ‘दलाल’ श्याम थापाले उनीहरुलाई दुबईमै राम्रो काम मिलाइदिने आश्वासन देखाएका थिए । पछि थापाले गरेका सबै कामहरु नक्कली भएको खुलासा भएसँगै पीडितहरुले आबुधावीस्थित नेपाली दूतावास तथा एनआरएनए यूएईमा उजुरी गरेका थिए । उनीहरुको पासपोर्ट जफत गरेर थापा सम्पर्कविहीन भएका थिए ।

दूतावासमा उजुरी गरेको थाहा पाएपछि गत शुक्रबार बेलुकी श्याम थापाले एनआरएनए दुबई क्षेत्रका क्षेत्रीय अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्रीको उपस्थितिमा केही अपरिचित गुण्डाहरु बोलाएर आफूहरुलाई मरणासन्न हुनेगरी कुटपिट गरेको पीडितहरुले आरोप लगाएका थिए। कुटपिटमा टिकाराम बोहोरा मरणासन्न हुनेगरी पिटिएका थिए ।

जफत भएको राहदानी फिर्ता गरिदिने भन्दै बरदुबईमा बोलाएर आफूहरुलाई थापा समूहका १० जना जति गुण्डाहरुले कुटपटि गरेको उनीहरुको आरोप छ। आफूहरुले कुटाइ खाँदा सँगै रहेका एनआरएनए दुबईका अध्यक्ष मल्ल चुपचाप बसिरहेकोले मल्लको नियतमाथि नै उनीहरुले प्रश्न उठाएका थिए। उनीहरुले मानव तस्करहरुको गिरोहसँग मल्लको मिलेमतो रहेको आरोप लगाएका थिए।

कुटपिटको घटनाले व्यापक रुप लिएपछि एनआरएनए यूएईले बिहीवार विज्ञप्ति जारी गर्दै अनुसन्धानमा सहज गराउन उनीहरुलाई तत्तकालको लागि निलम्बन गरेको जनाएको छ । अनुसन्धान पश्चात दोषी नपाइएमा उनीहरुको पद यथावत रहने बताइएको छ ।

निलम्बित अध्यक्ष भीम मल्लले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन्। उनले उक्त दिन पीडितकै आग्रहमा एनआरएनए अध्यक्षको हैसियतमा न्याय दिलाउन घटनास्थलमा पुगेको बताउँदै आएका छन् ।

अहिले आबुधावीस्थित नेपाली दूतावासले पनि यसबारेमा आफ्नो अनुसन्धान अगाडि बढाएको बताएको छ । दूतावासले गृह, पररास्ट्र तथा श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागलाई पत्रचार गर्दै मेनपावर र अलपत्र पार्ने थापालाई पक्राउ गरेर कारबाही अगाडि बढाउन अनुरोध गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *