रुपन्देहीमा भदौ ७ सम्म निषेधाज्ञा

डिसी नेपाल
२ भदौ २०७७ १९:२४

रुपन्देही । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आजदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सङ्क्रमण फैलिन नदिन जिल्ला संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए ।

खुला स्थानमा भेला हुन, भीडभाड गर्न र सभाजुलूस गर्न, जात्रामहोत्सव, दैनिक नित्य पूजाबाहेकका धार्मिक गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, होटल– रेष्टुरेन्ट सञ्चालन गर्न र निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी पन्थद्वारा सर्वसाधारणका नाममा जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।

यसैगरी सबै प्रकारका उद्योगव्यापार, व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप गर्न, धार्मिक, सांस्कृतिक कार्यका लागि जमघट गर्न, बेलहिया नाकाबाहेक अन्य नाकाबाट नेपाल प्रवेश गर्न, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालयसमेत सञ्चालनमा निषेध गरिएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सर्तकता अपनाउनाका साथै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने गराउने गरी भदौ ७ गतेसम्मका लागि अत्यावश्यक सेवालाई निरन्तरता दिँदै जिल्लाभर लागू हुने गरी सङ्क्रमक रोग ऐन २०२० को दफा २ बमोजिम गतिविधि गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *