६५ वर्षकी महिलाले १३ महिनामा ८ सन्तान जन्माइन तर सन्तान जन्माएको थाहै पाइनन्

डिसी नेपाल
६ भदौ २०७७ ९:२६

काठमाडौं। एउटी महिलाले एक पटक सन्तान जन्माएपछि अर्को सन्तान जन्माउनको लागि करिब डेढ वर्षको समय लाग्छ । तर, एक महिलाले १३ महिनाको अवधिमा ८ सन्तान जन्माइन् । हद त त्यतिबेला भयो जब त्यही गाउँकी अर्की एक ६६ वर्षकी महिलाले एकै दिन १० घण्टाको फरकमा २ सन्तान जन्माइन् । रोचक त के भने ती महिलालाई आफूले त्यति धेरै सन्तान जन्माएको थाहै थिएन । द हिन्दूको रिपोर्टअनुसार घटना भारतको बिहारको हो ।

त्यहाँको सरकारले संचान गरेको एक सरकारी योजनामा घोटाला गर्ने क्रममा यस्तो भएको हो । घोटालाको क्रममा उनीहरुले प्रकृतिको नियम समेत बिर्से । ६५ वर्षकी महिलाले १३ महिनामा ८ सन्तान जन्माउनु, त्यो पनि जुम्ल्याहा सन्तान नजन्माइ, चिकित्सा विज्ञानको दृष्टिले असम्भव छ । तर, बिहारको नेशनल हेल्थ मिशनले यसलाई सम्भव पारिदियो । खासमा ती महिलाले कुनै सन्तान जन्माएकै थिइनन् तर कागजमा उनले यति धेरै सन्तान जन्माएको देखाइयो ताकि सरकारले सुत्केरीलाई दिने प्रोत्साहन रकम हात पार्न सकियोस् ।

समाचारअनुसार बिहारको मुजफ्फरपुर जिल्लाको मुशहरी क्षेत्रमा बिचौलियाहरुले यसरी नक्कली रेकर्ड खडा गरेर पैसा हडपेका थिए । नेशनल हेल्थ मिशनले छोरी जन्माउने आमाहरुलाई प्रोत्साहन रकम दिन्छ । बिचौलियाहरुले कागजमा बालिकाहरुको नक्कली रेकर्ड बनाएर पैसा असुलेका थिए । यो घोटालामा कैयौं यस्ता महिलाहरुको नामबाट समेत रकम घोटाला गरिएको छ जो प्राकृतिक रुपमा सन्तान जन्माउन सक्षम नै छैनन् तर उनीहरुले सन्तान जन्माएको देखाएर रकम हडपिएको छ ।

रेकर्डमा ६५ वर्षकी लीला देवीले १३ महिनामा ८ छोरी जन्माएको देखिएको छ । हरेक जन्मपछि लीला देवीको नाममा प्रति सन्तान १४०० रुपैयाँ निकासा भएको छ र त्यो रकम खाताबाट पनि निकालिसकिएको छ । शान्ति देवीले ९ महिनामा ५ छोरी जन्माएको र सोनिया देवीले ५ महिनामा ४ छोरी जन्माएको रेकर्डमा देखिन्छ । बिचौलियाहरुले रकम हडपेको ती महिलाहरुलाई थाहा पनि छैन । यसबारे महिलाहरुलाई सोध्दा उनीहरु डराए र यसप्रकारको कुनै रकम आफूहरुले नपाएको बताए । यस विषयमा उच्चस्तरीय जाँच सुरु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *