बेखर्ची भइ फर्केका श्रमिकले होटेल क्वारेन्टाइनको शुल्क कसरी तिर्न सक्लान् ?

डिसी नेपाल
७ भदौ २०७७ ११:१४

बिनोद श्रेष्ठ

प्रतिबन्धित देशमा रहेर पनि देशको लागि करोडौं रेमिट्यान्स भित्री रहेकै थियो। अहिले विषम परिस्थितमा पनि भित्रिँदै छ। र, पनि इराकमा काम गर्ने नेपालीलाई किन यस्तो भेदभाव ?

चाहे चेलीबेटी नै बेचबिखनमा किन नपरुन् यी सबै कुराहरु थाहा हुँदाहुँदै पनि आफ्नो जीविकोपार्जनका लागि शरीरलाई नै जोखिममा पारेर काम गर्दै इराकमा आएका चेली पनि हजारौंको संख्यामा छन्। जसमा केही कामदारले दुख पाएका छन् भने धेरै संख्यामा खुशी छन्।

समस्यामा परेका चेली होउन् या भैपरी आउने समस्याबाट मृत्युवरण गर्नु पर्ने नेपालीहरुको लागि यहाँ राज्यको कुनै उपस्थिति छैन। र, पनि यहाँ पसिना बगाउने हामी नेपाली श्रमिकहरुकै कमाईबाट चन्दा उठाएर नेपालसम्म पठाउन र उद्धार गर्ने काम भइरहेको छ। बेचबिखन नै भए पनि अहिलेसम्म न्याय मिलेको छैन। यो समस्यासम्म त कुर्दिस्तान, बग्दादमा रहेका नेपालीहरुले राज्यको निरीहपनलाई सहेकै थिए।

तर,आज कोभिड–१९ को समस्याले धेरै नेपालीको रोजगारी गुमेको छ। राज्यको उपस्थिति नहुँदा नेपाली सबैको स्थिति बुझ्नसम्म पनि सकिने अवस्था छैन। कतिपय भिजिट भिसामा आएर काम नगरेको वर्षौं भयो। नेपाल फर्कनको लागि न त हातमा राहदानी नै छ न त रेसिडेन्सी कार्ड नै छ। नेपाल फर्कन खर्च छैन । अवैधानिक बसेको जरिवाना तिर्नु त झनै कसरी ?

कति बिरामीहरु छन् जसले नेपाल फर्केर उपचार गराउने सोचमा नै नारकीय जीवन बिताउँदै छन्। लकडाउन यता इराकमा तीन नेपालीले मृत्युवरण गरे। एक शवलाई कुर्दिस्तानमा नै दाहसंस्कार गरिसकिएको छ। एक शवको लागि पनि सोही प्रक्रिया सुरु हुँदै छ। एउटा शवलाई स्वदेश पठाउन पहल भइरहेको छ तर कहिले ?

भाद्र १ बाट नेपालमा पनि हवाई उडान सुरु हुने भनी जानकारी पाए पश्चात् ट्राभल एजेन्सीमा टिकट बुक पनि गरिसके तर जाने टुङ्गो छैन। ट्राभलले पनि हावामा टिकट काटेर पैसा असुलेकै छन्। मारमा हामी सोझा नेपाली परिरहेकै छौं। उडान खुलेपछि जाउँला भन्ने सोच । यहाँ रहेका नेपालीले सरकारले ल्याएको ७२ घण्टे कोरोना नेगेटिभ रिपोर्ट के हो भनेर बुझेका छन्। तर, अन्य अनलाइन फारम भर्नु पर्ने, होटल बुक गर्नु पर्ने यावत समस्या वास्तवमै बुझेका छैनन्।

इराकसँग नेपालको सिधा हवाइ उडान छैन। यी कारणले भोलि इराकबाट फर्केका नेपाली दुबइको ट्रान्जिटमा नै अलपत्र पर्नु पर्ने हो या के हो ? अहिले यहाँ रहेका नेपाली अन्योलमा छने। घरमा काम गर्ने दिदीबहिनीलाई हवाइ टिकट मात्र दिएर पठाउँदाको हालत के होला ? इराकमा रहेका हामी श्रमिक पनि नेपाली नै हौं सरकार यहाँ रहेका नेपालीको उद्धारको लागि पनि विशेष ध्यानाकर्षण होस्।

श्रेष्ठ इराकको कुर्दिस्तानमा रोजगारीसँगै सामाजिक कार्यमा पनि  सक्रिय छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *