भारतको नैनीतालमा पिकअप गाडी दुर्घटनामा ७ नेपालीको मृत्यु

डिसी नेपाल
२७ चैत २०८० १३:०२

काठमाडौं । भारतको उत्तराखण्डको नैनीताल जिल्लाको बेतालघाट विकास ब्लकको उन्चाकोट क्षेत्रमा सोमबार राति एउटा पिकअप गाडी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी र प्रशासनको टोली घटनास्थलमा पुगेको थियो । अन्धकारका कारण उद्धारमा निकै कठिनाई भएपनि धेरै प्रयासपछि सबैको शव भीरबाट निकालिएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

मल्लगाउँको उन्चाकोट क्षेत्रमा जल जीवन मिशन अन्तर्गत काम भइरहेको छ । प्रहरीका अनुसार राति करिब १०ः३० बजे चालकसहित नौ मजदुर पिकअप गाडीमा रामनगरतर्फ प्रस्थान गरेका थिए ।

नेपाली कामदार रामनगरबाट नेपाल जानुपर्ने थियो । गाडी गाँउबाट अलि पर पुग्दा चालक ओडा बास्कोट गाउँ (नैनिताल) बस्ने हरिश रामका छोरा ३८ वर्षीय राजेन्द्र कुमारले नियन्त्रण गुमाए । सडक साँघुरो भएकाले गाडी करिब दुई सय मिटर तल खाल्डोमा खसेको थियो ।

गाडी खसेको आवाज सुनेर वरपरका मानिसहरु घटनास्थलतर्फ दौडे । प्रहरी र प्रशासनलाई पनि जानकारी गराइएको थियो । बेतालघाट प्रहरी चौकी प्रमुख अनिश अहमद र राजस्व उपनिरीक्षक कपिल कुमार पनि टोलीसँगै गएका थिए। गाउँलेको सहयोगमा उद्धार कार्य सुरु गरिएको थियो । दुर्घटनामा चालक राजेन्द्र कुमार र नेपाली सात मजदुरको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५० वर्षीय विश राम चौधरी, ४५ वर्षीय धीरज, ४० वर्षीय अनंत राम चौधरी, ३८ वर्षका विनोद चौधरी, ५५ वर्षीय उदय राम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल रहेको प्रहरी चौकी प्रमुखले जानकारी दिए । जबकि शान्ति चौधरी र छोटु चौधरी भनिने ​​जनक घाइते भएका छन् । भिरबाट शव ल्याउन करिब दुई घण्टा लागेको थियो ।

पछि प्रहरी र गाउँलेसँगै एसडीआरएफ टोलीले पनि उद्धारको जिम्मा लिएको थियो । गम्भीर घाइते दुई जनालाई उपचारका लागि बेतालघाट सामुदायिक स्वास्थ्य केन्द्र र प्राथमिक उपचारपछि माथिल्लो केन्द्रमा रिफर गरिएको थियो । र्घटनाको कारणबारे अनुसन्धान गरिने प्रहरी चौकी प्रमुखले बताए । सबै कामदार ठेकेदारको मातहतमा काम गरिरहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *