उपभोक्ता समितिका पदाधिकारीले आपसमा बाँडेर लिए करिब ३ लाख रुपैयाँ (अडियोसहित)

डिसी नेपाल
८ भदौ २०७७ १८:२९

काठमाडौं। दैलेखको गुराँस गाउँपालिकामा सञ्चालित एक परियोजनाको उपभोक्ता समितिमा रहेका पदाधिकारीले परियोजनाको रुपैयाँ आपसमा बाँडेर लिएका छन्। कर्णाली प्रदेशको प्रदेश सभा सदस्य विकास कोषको रकमबाट गुराँस गाउँपालिकाको वडा नम्बर ६ मा सञ्चालन भएको भिउचुला–पुलिया सडक निर्माणका क्रममा उपभोक्ता समितिका पदाधिकारीले करिब ३ लाख रुपैयाँ आपसमा बाँडेर लिएका हुन्।

उपभोक्ता समितिका अध्यक्ष गगन खत्रीले आफूहरु तीनजनाले ९२–९२ हजार रुपैयाँ बाँडेर लिएको स्वीकार गरेको एक अडियो टेप सार्वजनिक भएको छ। टेमा अध्यक्ष खत्रीले एक स्थानीयसँगको कुराकानीमा आफू, समितिका सचिब गोविन्द ओली र कोषाध्यक्ष भक्तबहादुर रानाले रकम बाँडेर लिएको बताएका छन्।
उनले कुराकानीका क्रममा एकजनाले भने रकम लिन नमानेकोसमेत उल्लेख गरेका छन्। अडियाेमा तीनजनाले २  लाख ७६ हजार बाँडेकाे उल्लेख भए पिन स्राेतका अनुसार २ लाख ८३ हजार रूपैयाँ हिनामिना भएकाे छ।

कुराकानीका क्रममा अध्यक्ष खत्रीले आफूहरुले रुपैयाँ लिएको कुरा सार्वजनिक सुनुवाईमा पनि भन्न तयाररहेकोसमेत उल्लेख गरेका छन्। उनले सोही वडाका वडा अध्यक्ष हिम ओलीले पनि बाँडेर रकम लिनु भनेको उल्लेख गरेका छन्।


तर, डिसी नेपालसँगको कुरामा वडा अध्यक्ष ओलीले आफूले त्यसरी परियोजनाको रकम लिनु नभनेको बताए। उनले डिसी नेपालसँग भने, ‘५० लाखको काम थियो, सो काममा लामो समय लाग्ने भएपछि समितिलाई दैनिक ज्याला लिनु भनेको हो। त्यसरी आपसमा बाँडेर लिनु भनेको होइन।’ यो प्रकरणमा आफ्नो नाम मुछिएपछि समितिका अध्यक्षसँग आफूले यो विषयमा छलफल गर्ने तयारी गरेको उनले बताए।

उता सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य धर्मराज रेग्मीले उभोक्ता समितिले रकम लिएको अडियो आफूले पनि सुनेको भन्दै सो विषयमा छानविन हुनुपर्ने बताए। उनले डिसी नेपालसँग भने, ‘यी योजनामा हाम्रो प्रत्यक्ष कुनै भूमिका हुँदैन। तर पनि आफ्नो क्षेको कुरा भएकाले यो विषयमा छानविन गरेर दोषीमाथि कारबाहीका लागि पहल गर्छु।’

यसैबीच अडियाे प्रकरणबारे छानविन गर्न गुराँग गाउँपालिकाले ३ सदस्यीय छानविन समिति गठन गरेकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *