भारतको लकडाउनले बलात्कार घटनाका दोषी ६ वर्षपछि घर आउँदा…

डिसी नेपाल
११ भदौ २०७७ १८:०९

मुगु। मुगुमा छोटो अवधीमै विभिन्न अभियोगमा फरार रहेका १२ जना अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको छ।

भदौ १ गते देखि १० गते भित्र विभिन्न अभियोगमा फरार रहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहले बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटाघाट कार्यक्रममा जानकारी दिए।

प्रनाउ साहका अनुसार प्रहरी केन्द्रीय कार्यालयको नीति अनुसार अदालतको फैसला कार्यान्वयन गर्न अभियुक्तलाई पक्राउ गर्न जारी गरेको विषेश योजना अनुसार प्रहरी सक्रिय हुँदा लामो समयसम्म फरार रहेका व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका हुन्।

पक्राउ मरेका मध्य ११ जना अभद्र व्यवहार र कुटपिटको आरोपमा फरार रहेकाहरु छन्। उनीहरु अदालती प्रक्रिया पुरा गरी धरौटीमा रिहा भएको प्रहरीले बताएको छ।

यो अवधीमा सबै भन्दा ठूलो उपलब्धी भनेको जवरजस्ती करणी र चोरी मुद्दामा जिल्ला अदालत मुगुको २०७४ फागुन २१ गतेको फैसलाका दोषी ९ गते पक्राउ पर्नु रहेको प्रहरीले बताएकको छ।

प्रतिवादी २०७१ असोज ६ गते अन्दाजी साँझ ५ बजे खत्याड गाँउपालिका वडा नं ११ डाडवनमा एक युवतीलाई करणी गरि फरार रहेका थिए। उनी ६ बर्षपछि पक्राउ परेका छन्।

अदालतको फैसला भैसक्दा पनि फरार रहेका प्रतिवादी बर्ष २१ का शुक्रराज शाही भारतको सिम्लामा लुकिछिपी बसेको र कोरोनाका कारण भारतमा समेत लकडाउन भएपछि घर आएका थिए। एक महिना अघि घर आएर बसेको थाहा पाएपछि प्रहरीले उनकै घरबाट मंगलबार पक्राउ गरेको थियो।

अदालतले शाहीलार्ई १० बर्ष कैद सहित ६९ हजार ३ सय जरिवाना फैसला गरेको छ।

जिल्लामा कारागार नभएकाले अपराधीलाई राख्न कारागार विभागको अनुमती आएपछि विभागले तोकेको कारागारमा चलान गरिने प्रनाउ साहले बताए।

जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी हँुदा अहिले प्रहरीलाई काम गर्न सजिलो भएको पत्रकार भेटघाटमा बताइयो।सबै वडा, बस्ती, स्थानीय तह र जिल्ला स्तरमा सामुदाय प्रहरी साझेदारी कार्यक्रमका संरचना र पदाधिकारीहरु भएकाले जस्तो सुकै घटना भए पनि समयमै सूचना आउने गरेको र विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न र पीडितलार्ई न्याय दिन सजिलो भएका प्रनाउ साहले बताए।

लक डाउनले गर्दा अदालतबाट फैसला भएका तर फरार रहेका व्यक्तिहरु जिल्लामा आएकाले उनीहरुलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गर्न प्रहरी लागिपरेको पनि बताइएको छ ।

जिल्लामा प्रहरीको सक्रियता बढेकाले सानो सानो घटनामा पनि जिल्ला धाउने चलन अन्त्य हुँदै गएको छ नत्र विगतमा सानो तिनो घटनालाई पनि राजनीतिक रंग दिएर ठूलो बनाउने कार्य हुदै आएको थियो। राजनीतिक रंगमा ठूलै आर्थिक चलखेल गर्ने र यो कार्यमा स्थानीय नेताहरु सक्रिय हुने गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *