कोरोना महामारीः मृत्यु दर ह्वात्तै बढ्यो, मृतकको संख्या २ सय नाघ्यो

डिसी नेपाल
१३ भदौ २०७७ १७:०८

काठमाडौं। देशमान कोरोनाका कारण हुने मृत्यु दर ह्वात्तै बढेको छ। पछिल्लो ४८ घण्टामा २४ जनाको मृत्यु भएको सरकारको तथ्यांकले देखाएको छ। शुक्रबार १२ जनाको मृत्यु भएको थियो भने शनिबार पनि १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

शनिबार नियमित प्रेस ब्रिफिङमा उनले ९ जना पुरुष र ३ जना महिलाको कोरोनाका कारण मृत्यु भएको जानकारी दिए। पछिल्लो दुई दिनको तथ्यांकअनुसार नेपालमा प्रत्येक दुई घण्टामा १ जनाको मृत्यु हुने गरेको छ। नेपालमा शनिबारसम्म मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ।

भदौ शुरु भएयता १३ दिनमा कोरोनाबाट १०३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार साउनमा कोरोना मृत्यु दर नेपालमा शून्य दशमलव ४ प्रतिशत थियो। भदौ लागेपछि मृत्यु दर बढेर शून्य दशमलव ५ प्रतिशत पुगेको छ। कोरोनाका कारण साउन ३२ गते सम्ममा नेपालमा १०४ जनाले ज्यान गुमाएका थिए। शनिबार सम्ममा उक्त सङ्ख्या बढेर २०७ पुगेको छ। मृत्यकहरुमा महिला २६ प्रतिशत अर्थात् ५४ तथा पुरुष ७४ प्रतिशत अर्थात् १५३ जना रहेका छन्।

नेपालमा पछिल्ला दिनहरुमा संक्रमितको संख्या पनि लगातार बढिरहेको छ। शनिबार नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३७ हजार ३४० पुगेको छ। शनिबार ८८४ नयाँ संक्रमित थपिएका छन्।

सरकारले संक्रमितहरुको संख्या बढ्न थालेपछि लक्षण नदेखिएका संक्रमितहरुलाई संस्थागत आइसोलेशनमा नराख्न प्रथामिकतासमेत दिन थालेको छ। यस्तै १४ दिनसम्म संस्थागत आइसोलेशनमा रहेकालाई कोरोना पोजेटिभ भए पनि जबरजस्ती डिस्चार्ज गर्न थालिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *