विद्युत बिक्री गर्न नसके ४५ सय मेगावाट खेर, १० खर्ब लगानी जोखिममा

डिसी नेपाल
१६ भदौ २०७७ १६:२८

काठमाडौं। नेपालले आगामी वर्षहरुमा विद्युत बिक्रीको व्यवस्था नगरे ठूलो मात्रामा विद्युत खेर जाने उत्पादकहरुले बताएका छन्। विद्युत उत्पादन बृद्धिको तुलनमा खपत न्यून भएकाले उत्पादित विद्युत विदेशमा बिक्री गर्नुपर्ने उनीहरुको भनाइ छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको ऊर्जा व्यापार सम्बन्धी कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्गले बिजुली बेच्न नसके १० खर्ब रुपैयाँ जोखिममा पर्ने बताए।

हाल १३ सय ६० मेगावाट रहेको नेपालको विद्युत उत्पादन क्षमता आगामी तीन बर्षभित्र ६ हजार मेगावाट पुग्ने बताउँदै उनले बिक्री नगरे बिजुली खेर गएर १० खर्ब लगानी जोखिममा पर्ने उल्लेख गरे।

‘अहिलेको विद्युत खपतको अवस्था र तत्काल धेरै विद्युत खपत गर्ने गरी औद्योगिकरण नहुने अवस्थाले अबको तीन वर्षमा विद्युत माग १७÷१८ सय मेगावाटभन्दा बढी पुग्ने अवस्था छैन,’ उनले भने, ‘चालु वर्षमा १ हजार, अर्को वर्ष २ हजार र तेस्रो वर्ष कम्तीमा एक हजार पाँच सय मेगावाट भन्दा बढी गरी तीन बर्षभित्र झण्डै ४५ सय मेगावाट बराबरको उत्पादन बढ्ने अवस्था छ, त्यो अवस्थामा बिजुली बेच्न नसके चार हजार मेगावाट विद्युत खेर जान्छ।’

विद्युत खेर जाँदा ऋण लगानी गर्ने बैक, स्वँपुजी लगानी गर्ने लगानीकर्ता र सेयर लगानी गर्ने शेयरकर्ताको पैसा डुब्ने बताउँदै सरकारले अग्रसरता देखाए अहिले पनि विद्युत व्यापारको अवस्था रहेको बताउँछन्।

चीनसँग अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रकृया अघि बढेपनि त्यो निर्माण हुन पाँच बर्ष कम्तीमा लाग्ने तथा बनेपछि पनि पाँच सय किलोमिटरभन्दा बढीको प्रसारण लाइनमा बिजुली लैजानुपर्ने भएकोले विद्युत व्यापार कठिन रहेको तथा वंगलादेशमा बिक्री गर्न पनि २३ किलोमिटर भारतीय भूमि प्रयोग गर्नुपर्ने कारण भारत अहिलेका लागि नेपालको बिजुलीको मुख्य बजार रहेको गर्गको तर्क छ।

उनी भन्छन्, ‘बंगलादेश, म्यानमार जस्ता देशमा बिजुली बेच्न पनि भारतको स्वीकृत चाहिन्छ, केही वर्षका लागि भारतनै हाम्रो मुख्य बजार हो, बेच्न तत्काल पहल गर्नुपर्छ, यदि पहल भएन भने जलविद्युतका लगानीकर्ताका लागि मात्र देशकै अर्थतन्त्रमा गम्भीर संकलन आइलाग्छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *