जोखिम भत्ता नपाएपछि चिकित्सक आन्दोलित

डिसी नेपाल
१६ भदौ २०७७ १९:४८

झापा । मेची अस्पताल झापाका चिकित्सक, नर्स तथा कर्मचारीले कोेभिड–१९ को जोखिम मोलेर काम गरे पनि ‘जोखिम भत्ता’ नपाएको भन्दै आजदेखि आन्दोलनमा उत्रिएका छन् । सरकारले कोभिड–१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भने पनि हालसम्म नपाएपछि उनीहरुले पहिलो चरणमा विरोधस्वरुप आजदेखि हातमा कालो पट्टी बाँधेर आन्दोलन शुरु गरेका हुन् ।

यही भदौ २३ गतेसम्म पहिलो चरणको आन्दोलनअन्तर्गत हातमा कालो पट्टी बाँधेर काम गर्ने अस्पतालका मेडिकल अफिसर डा लेनिस पोखरेलले बताए । उनले मेची अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले पाँच महिनादेखि भत्ता नपाएको बताए ।

डा पोखरेलले तत्काल भत्ता उपलब्ध गराउन माग गर्दै प्रदेश सरकार, स्थानीय प्रशासन र अस्पताल विकास समितिलाई निवेदनसमेत दिएको बताए । “हामी आफ्नो ज्यान जोखिममा पारेर सेवामा कार्यरत छौँ”, उनले भने, “सरकार आफैँले कोरोना सङ्क्रमणविरुद्ध अग्रपङ्क्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मीलगायत जोखिम भत्ता दिने व्यवस्था गरेको छ भन्यो तर हामीले अझै पाएनौँ । बाध्य भएर आन्दोलनमा उत्रिनु प¥यो ।”

उनका अनुसार उनीहरुको माग सुनुवाई नभए २४ गतेदेखि अस्पतालको ओपीडी सेवासमेत बन्द गरिनेछ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पिताम्बर ठाकुरले असारमै जोखिम भत्ताका लागि सम्पूर्ण कागजातसहित हिसाब प्रदेश नम्बर १ को सामाजिक मन्त्रालयमा पठाइसकिएको बताए ।

उनले प्रक्रिया पु¥याएर काम गर्नुपर्दा रकम निकासीमा केही ढिलो भएको हुनसक्ने बताउँदै भने, “सायद अब चाँडै आउँछ होला । आउने बित्तिकै उहाँहरुको मागको सम्बोधन हुन्छ ।” अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले भने आफूलाई आन्दोलनबारे कुनै जानकारी नभएको बताए


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *