राति पौने ११ बजे वरिष्ठ नेता पौडेलको फेसबुक स्टाटसः मलको आपूर्ति समयमै नगर्नु दुःखद्

डिसी नेपाल
१६ भदौ २०७७ २२:४३

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले धान रोपोईँ भएको लामो समयसम्म पनि कृषकले मल नपाएको भन्दै चिन्ता प्रकट गरेका छन्। मंगलबार राती सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै नेता पौडेलले ‘धान रोपाईँ सकिएको लामो समय वितिसक्दा पनि सरकारले कृषकलाई युरिया मल आयात गरी उपलब्ध गराउन नसक्नु दुःखद कुरा हो’ भनेका छन्। स्मरण रहोस मंगलबारमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई फोन गरेर कृषि मल उपलब्ध गराइदिन अनुरोध गरेका छन्।

उनले भनेका छन्, ‘पूर्व तयारी गरी कृषकलाई समयमै मल उपलब्ध गराउनुपर्नेमा सयम गुज्रिसक्दा पनि मल उपलब्ध गराउन नसक्नु वर्तमान सरकार कृषकप्रति उदासीन रहेको प्रष्ट देख्न सकिन्छ । सरकारको यस प्रकारको क्रियाकलापले कृषकलाई निरुत्साहित गरेको छ।’

उनले गरिब किसानले दुःख कष्टका साथ लगाएको धानवाली पहेँलिने अवस्थामा समयमै मल नहाल्दा बाली विग्रने, धान उत्पादनमा ह्रास आउने र त्यसैको उपज उत्पादनमा असर परी भोकमरी हुने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन्। उनले कोरोना महामारीसँगै मलको अभाव हुँदा कृषकको बाली नष्ट हुने, श्रम खेर जाने र खाद्यान्नको अभाव हुने सम्भावना रहेको बताएका छन्।

उनले भनेका छन्, ‘सरकारलाई कृषकको पीडावोध गरी तत्काल निकाशको बाटो खोजेर कत्तिपनि विलम्ब नगरी मल आयात गरेर सहुलियतदरमा मल उपलब्ध गराउन हाम्रो माग छ। मल आयातमा भइरहेको ढिलाई , भ्रष्टाचार तथा अनियमितताको सत्यतथ्य छानविन गरी दोषीलाई सख्त कारबाहीको दायरामा ल्याउन माग गर्दछु।’

https://www.facebook.com/RCPaudelNepal/posts/3561455787219160

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *