मोरङमा १ हजार ७४६ कोरोना संक्रमित, ७१८ जना संक्रमणमुक्त

डिसी नेपाल
१९ भदौ २०७७ १३:०६

मोरङ । प्रदेश १ को राजधानी तथा जनघनत्वको आधारमा विराटनगर प्रदेशकै ठूलो सहर हो। पछिल्लो समय बिराटनगर पनि कोरोना महामारीका कारण बढी प्रभावित भएको छ। समुदायस्तरमा संक्रमण देखिएको विराटनगर महानगरपालिकामा ११ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये विराटनगरमा ११ जनाको मृत्यु भइसकेको छ। प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबारसम्म मोरङमा १ हजार ७४६ जना कोरोना संक्रमित छन। संक्रमितमध्ये मोरङमा ७१८ जना संक्रमणमुक्त भएका छन्।

विराटनगर महानगरपालिकाले पीसीआर जाँचलाई प्राथमिकतामा राखेको छ। तर विराटनगरमा भने पीसीआर जाँच गर्नेको संख्या घट्दै गएको छ। विराटनगरका संक्रमितमध्ये ५९६ होम आइसोलेसनमै बस्न बाध्य छन्। संक्रमण पुष्टि भए घरमै बस्नुपर्ने र समाजबाट तिरस्कृत हुने डरले पीसीआर जाँच गर्न चासो नदिएका हुन्।

महानगरले बैजनाथपुर स्वास्थ्य चौकी, काली सेवा सदन, मारवाडी सेवा सदनमा होल्डिङ आइसोलेशन सञ्चालन गरिरहेको छ । होटल एसियाटिकमा पनि आइसोलेशन सेन्टर सञ्चालनका लागि समन्वय गरेको थियो।

संक्रमण नियन्त्रणका लागि समुदायस्तरमा परीक्षण केन्द्रीय गरिएको महानगरका प्रमुख भिम पराजुलीले बताए । लक्षण नदेखिएको बताउँदै संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरू पीसीआर जाँच गर्न मान्दैनन्,’ उनले भने, ‘दीर्घरोगीलाई कोरोनाले बढी असर गर्ने भएकाले नगरपालिकाले घरबाट ननिस्कन र सावधानी अपनाउन आग्रह गरिरहेका छौँ।’

संक्रमण बढेपछि बिराटनगरमा निषेधाज्ञा लागू भएको थियो। पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाउँदै बजार खुला गर्न थालिएको छ। कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले भदौ २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा अत्यावस्यक कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ। उता, यहीबेला सर्बसाधारणलाई भने दैनिक छाक टार्नलाई पनि बाहिर निस्कनैपर्ने बाध्यता छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *