कोरोनाको डर नमानी धमाधम भारततर्फ जाँदै नेपालीहरु

खेमराज थापा
२० भदौ २०७७ १८:०८

काठमाडौं। पश्चिम नेपाल र तराईका केही जिल्लाका नेपालीहरुको मुख्य श्रम बजार भारत हो। यो वर्ष कोरोना महामारीका कारण भारतको श्रम बजार पनि प्रभावित बन्यो। भारतमा कोरोना महामारीले उग्र रुप लिँदा ठूलो संख्यामा नेपालीहरु स्वदेश नेपाल फर्किए। गएको चैत ११ मा नेपाल सरकारले देश व्यापी लकडाउन जारी गरेपछि गएको जेठसम्म ठूलो संख्यामा नेपालीहरु भारतबाट नेपाल आए। यद्यपी अहिले पनि भारतबाट नेपालतर्फ नेपालीहरु आइरहेका छन्।

तर, अहिले नेपालबाट पनि नेपालीहरु धमाधम भारततर्फ जान थालेका छन्। पश्चिम नेपालका मुख्य तीन नाका जमुना नाका बाँके, गौरीफन्टा नाका कैलाली र गड्डा चौका नाका कञ्चनपुरबाट दैनिक नेपालीहरु भारतफर्त गइरहेका छन्।

भारतबाट नेपाल फर्केका नेपालीहरु नेपालमा काम नपाएपछि रोजगारीका लाथि भारत जान बाध्य भएका हुन्। परम्परागत रुपमा भारतमै रोजगारीका लागि जाने नेपालीहरु यो वर्ष कोरोनाका कारण ढिलो गरी भारततर्फ जान थालेका हुन्।

नेपालीहरु भारततर्फ गइरहेको बेला भारतमा कोरोना महामारी भने उग्र रुपमा फैलिएको छ। दैनिक ८७ हजारसम्म नयाँ कोरोना संक्रमित फेला पर्न थालेका छन्।

विज्ञहरुले भारत कोरोना संक्रमणको नयाँ इपिसेन्टर बन्ने चेतावनी दिइरहेका छन्। तर, नेपालीहरुले भने रोजगारीका लागि भारत जान बाध्य भएका हुन्।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार दैनिक ३ सयभन्दा धेरै नेपालीहरु भारततर्फ गइरहेका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णानन्द जोशीका अनुसार शनिबारमात्र गौरीफन्टाबाट ३६८ र गड्डा चौकीबाट ५० जना नेपालीहरु भारततर्फ गएका छन्।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार शनिबार गड्डाचौकी नाकाबाट महिला ११ जना, पुरुष ६१ र बालबालिका ८ जना गरी ८० जना नेपाल भित्रिएका छन्।

यस्तै महिला १०, पुरुष ३४ र बालबालिका ६ जना गरी ५० जना नेपालबाट भारततर्फ गएका छन्। यस्तै कैलालीमा पर्ने गौरीफन्टा नाकाबाट शनिबार महिला ८७, पुरुष २१० र बालबालिका ४७ गरी ३४४ जना नेपाल भित्रिएका छन्। यस्तै महिला ५५ र पुरुष २१३ गरी २६८ जना भारतर्फ गएका छन्।

यस्तै शुक्रबार गड्डाचौकी नाकाबाट महिला ११, पुरुष ५० र बालबालिका १० गरी ७१ जना नेपाल भित्रिएका थिए भने , महिला १०, पुरुष ३० र बालबालिका ५, गरी ४५ जना भारततर्फ गएका थिए।

यस्तै गौरीफन्टा नाकाबाट शुक्रबार महिला ३३ पुरुष ८० र बालबालिका १५ गरी १२८ जना नेपाल भित्रिएका थिए। उता महिला २४ र पुरुष १७० गरी १९४ जना भारततर्फ गएका थिए।

यस्तै गएको बिहीबार गड्डाचौकी नाकाबाट महिला १४, पुरुष ४४ र बालबालिका १५ गरी जम्मा ७३ जना नेपाल आएका थिए भने महिला ११, पुरुष २८ र बालबालिका ७ गरी ४६ जना भारततर्फ गएका थिए।

यस्तै गौरीफन्टा नाकाबाट गएको बिहीबार महिला ३८, पुरुष ७५ र बालबालिका २१ गरी १३४ जना नेपाल आएका थिए भने महिला ५५ र पुरुष १६५ ‍‍गरी २२० जना भारततर्फ गएका थिए।

यस्तै बुधबार गड्डाचौकी नाकाबाट महिला ३, पुरुष २९ र बालबालिका २ गरी ३४ जना नेपाल भित्रिएका थिए भने महिला ७, पुरुष १७ र बालबालिका ६ गरी ३० जना भारततर्फ गएका थिए।

यस्तै बुधबार गौरीफन्टा नाकाबाट महिला ११, पुरुष ३६ र बालबालिका ७ गरी ५४ जना नेपाल आए भने महिला ४६ र पुरुष १३४ गरी १८० जना भारततर्फ गए।
पश्चिम नेपालको अर्को मुख्य नाका जमुनाहबाट दैनिक २०–२५ जना नेपाली भारततर्फ जाने गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए। उनले भारतको रासन कार्ड भएकाहरुलाई भारततर्फ जान दिने गरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *