आर्थिक वृद्धिसम्बन्धी गलत प्रचार नगर्न विभागको आग्रह

डिसी नेपाल
२१ भदौ २०७७ १७:५१

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७६/०७७ को आर्थिक वृद्धिका सम्बन्धमा गलत प्रचार भएको र तथ्यको तोडमोड गरिएकामा आपत्ति जनाएको छ । विभागले आव २०७६/०७७ मा आधारभूत मूल्यमा २.२७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान यसअघि नै सार्वजनिक गरेको सन्दर्भ जोड्दै सो बाहेक राष्ट्रिय लेखा तथ्याङ्क परिमार्जन गरी प्रकाशनमा नल्याएको जनाएको छ । विभागले पछिल्ला केही दिनमा आर्थिक वृद्धिको विषयलाई लिएर गलत तथ्याङ्कको प्रसार तथा प्रशारण भइरहेको पाइएकाले त्यस्तो गलत हल्लाको पछाडि नलाग्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय तथा राष्ट्रियतहमा देखिएको कोरोनाको महामारीको असरलाई न्यून गर्न अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासको प्रभावले हाम्रो अर्थतन्त्रमा पर्ने असर अनुमान गरि आव २०७६/०७७ को प्रारम्भिक वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क गत वैशाख १७ गते प्रकाशनमा ल्याइएको स्मरण गराएको छ ।

सो आवको तेस्रो त्रैमासको मौसमी प्रभाव असमायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा आव २०७५/०७६ को सोही अवधिको तुलनामा ०.८ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यसैगरी मौसमी प्रभाव समायोजित त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा आव २०७६/०७७ को दोस्रो त्रैमासको तुलनामा सोही आवको तेस्रौ त्रैमासमा २.७२ प्रतिशतले सङ्कुचन हुने प्रारम्भिक अनुमान गरिएको छ । यी बाहेक विभागले कुनै पनि वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क परिमार्जन गरी प्रकाशनमा नल्याएको विभागद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *