बैतडी : निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्बियो
बैतडी । जिल्लामा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा खुकुलो पारी लम्ब्याउने निर्णय गरेको हो।
बैठकपछि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी आदेशमा निषेधाज्ञाका बेला गर्न पाउने र नपाउने कुरा उल्लेख गरिएको छ । अनिवार्यरूपमा मास्क, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म सबै प्रकारका पसल खोल्न दिने निर्णय भएको जारी आदेशमा उल्लेख गरिएको छ।
यस्तै, सवारी साधनको हकमा जोरबिजोर प्रणालीअन्तरगत सञ्चालन गर्न दिने र निषेधाज्ञाको अनुगमन गर्ने निर्णयसमेत भएको प्रजिअ जोशीले बताए। उनले भने, “हामीले जनजीवनलाई केही सहज हुने गरेर निषेधाज्ञा खुकुलो पारेका छौँ । यसको अर्थ स्वास्थ्य सुरक्षा सतर्कता नपआउने भन्ने होइन । निषेधाज्ञा खुकुलो भए पनि पूर्णरूपमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सबैलाई आग्रह गर्दछु।”
सङ्क्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जिल्लामा सबै प्रकारका भेला, बैठक, सेमिनारमा भने यसअघिकै निर्णयानुसार रोक लगाइने जारी आदेशमा उल्लेख गरिएको छ।
यसअघि भदौ ८ गतेदेखि भदौ १४ गतेसम्म पहिलो चरणको निषेधाज्ञा र १४ गतेदेखि भदौ २१ गतेसम्म दोस्रो चरणको निषेधाज्ञा जारी गरिएको थियो । दुई हप्ता लामो निषेधाज्ञापछि सोमबारदेखि निषेधाज्ञा केही खुकुलो हुने भएको हो । बैतडीमा हालसम्म ३ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये ३६० जना निको भएर घर गइसकेका छन् भने १५ जना विभिन्न स्थानीय तहका विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment