खतिवडा बर्हिगमनले छोएन शेयर बजारलाई, साताको दोस्रो दिन कारोबार दिन पनि ओरालो

डिसी नेपाल
२२ भदौ २०७७ १८:१९

काठमाडौं। डा.युवराज खतिवडा अर्थमन्त्री भएकै कारण ओरालो लागेको भनिएको शेयर बजार खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएपछि पनि ओरालो लाग्नबाट रोकिएको छैन।

अर्थमन्त्रीबाट हट्ने हल्ला फैलिँदैगर्दा बजार उकालो लागेको थियो, मानौ बजार उकालो लाग्नका लागि मुख्य बाधक अर्थमन्त्री डा.खतिवडा नै हुन्। तर हल्ला फैलिँदा विभिन्न कम्पनीको शेयर किनेर रिजर्भ राखेका लगानीकर्ताले डा.खतिवडाको बहिर्गमनसँगै नाफा बुक गर्नका लागि आफूसँग भएको शेयर विक्रि गर्दा शेयर बजार ओरालो लागेको हो।

शुक्रबार राजीनामा दिएका डा. खतिवडाको बर्हिर्गमनसँगै आइतबार बजार उकालो लागेर नयाँ उचाई छुन सक्ने विष्लेण गरिएको थियो, तर त्यसो हुन सकेन। किनकी नयाँ लगानीकर्ताको आँखामा छारो हाल्दै पुराना तथा ठूला लगानीकर्ताले आइतबार र सोमबार आफ्नो नाफा बुक गर्नतर्फ लाग्दा दुई दिनमा नै २२ अंकले शेयर बजार ओरालो लाग्यो।

पछिल्लो एक महिनामा नेप्से १३५ अंक बढेको छ। अढाइ महिनाअघि नेप्से ११८० अंकतिर थियो। त्यसयता ३३० अंकको उच्च बजार बढ्दा ठूला तथा अनुभवी लगानीकर्ताले आफ्नो नाफा आर्जन गरीसकेका थिए। अव बजार नबढ्ने देखेपछि उनीहरुले आफूसँग भएको शेयर बेच्न थाल्दा बजार पुनः ओरालो लागेको हो।

“ठूला तथा पायेनिर मानिएका लगानीकर्ताहरुले सन्चारमाध्यम मार्फत एउटा कुरा गर्ने अनि आफूले व्यवहारमा अर्को कुरा गरेर नयाँ तथा सर्वसाधारण लगानीकर्ताहरुको मनोविज्ञानमाथि खेलवाड गरेका छन्”, एक शेयर ब्रोकरले भने।

उनका अनुसार पछिल्लो समयमा पनि भएको त्यही नै हो। खविडा विरोधी लगानीकर्ताहरुले खतिवडालाई नै शेयर बजार विरोधीका रुपमा परिचित गराए तर बास्तवमा त्यो होइन रहेछ भन्ने कुरा खतिवडाको बर्हिगमनसँगै बजारमा आएको मन्दीले देखाएको छ।

शेयर बजारमा संस्थागत लगानी गर्ने पायोनियर कम्पनी हाथ्वे इन्भेस्टमेन्टका सञ्चालक एवम् नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखे “ बजार घट्यो भनेर अरुलाई आरोप प्रत्यारोप लगाउने समय आफूले लगानी गरेका कम्पनीहरुको बिश्लेषणमा लगाउनु होस फाईदा त्यता छ।”

उनका अनुसार लगानीकर्ताहरुले को अर्थमन्त्री वा को नेपाल धितोपत्र बोर्डको अध्यक्ष छ भनेर दिमाग खियाउनु भन्दा आफूले लगानी गर्न चाहेको कम्पनीको वित्तिय विवरण विष्लेषण गरेर लाभांशको आधारमा लगानी गर्नु जरुरी छ।

नेपाल स्टक एक्सचेन्सका प्रबक्ता मुरारी पराजुलीका अनुसार बजारको प्रकृति नै घटबड हुने हो। उनले भने, ‘आन्तरिक सूचनाको आधारमा हुने कारोबारलाई निरुत्साहित गर्न र साधारण लगानीकर्ताको हित सुरक्षित गर्न आफूहरू नेप्से र धितोपत्र बोर्डले सधैं प्रयास गरिरहेको छ।’

सोमबार शेयर बजार परिसुचक (नेप्से) १२.१७ अंकले ओरालो लागेको छ। सोमबार कारोबार, लघुवित्त र अन्य समूहको बाहेक सम्पूर्ण पसिूचक ओरालो लागेको छ। आइतबार नेप्से १० अंकले ओरालो लागेको थियो। यसदिन १९२ वटा कम्पनीको ५५ लाख ९५ हजार कित्ता शेयरको २ अर्ब १६ करोड बराबरको कारोबार भएको छ।

यस दिन उन्नती सहकार्य लघुवित्त, यूनिर्भसल पावर कम्पनी र जोशी हाइड्रोपावरका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य निरन्तर दोस्रो कारोबार दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयर मूल्य सोमबार ४८ रुपैयाँ घटेर ४३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा सोमबार पनि नेपाल पुनर्बीमा कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ४० लाख ३७ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ७०४ कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नागरिक लगानी कोषको १५ करोड ६३ लाख रुपैयाँ बराबरका शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *