कोरोनाबाट गण्डकीमा एकको मृत्यु
सांकेतिक तस्वीर
पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिजो साँझ ५ः३० बजे उपचारका क्रममा चितवनको कोभिड अस्पतालमा मृत्यु भएको हो।
निजको केही समयदेखि मिर्गौलाले काम नगरेका कारण डाइलासिस भइरहेको र यही भदौ १९ गते कोभिड–१९ सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्या भई अवस्था जटिल बन्दै गएपछि उनलाई सघन उपचार कक्षमा सारिएको थियो । हालसम्म गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ।
त्यस्तै, आज बिहान कास्कीको पोखरामा नौ, बाग्लुङ र नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) एक÷एक जना गरी प्रदेशमा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
गण्डकीमा हालसम्म सङ्क्रमितको सङ्ख्या दुई हजार ६७२ पुगेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए। प्रदेशमा ५३ हजार ३२९ जनाको पिसीआर नमूना परीक्षण गरिएकोमा ५० हजार ६५७ मा कोरोना सङ्क्रमण देखिएको छैन । सङ्क्रमित मध्ये एक हजार ८०४ जना निको भएका छन् भने सक्रिय सङ्क्रमित ८४६ रहेको निर्देशनालयले जनाएको छ। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment