बेलायतमा कोरोना परीक्षण गरेको रिपोर्ट नेपालमा मान्य नहुने भनेपछि लण्डन विमानस्थनमा तनाव

डिसी नेपाल
२५ भदौ २०७७ १५:०५

काठमाडौं । बेलायतबाट घर फर्किन लन्डनस्थित हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका नेपालीहरुलाई कतार एयरवेजले विभिन्न बहाना गरेर दुःख दिएको छ । बेलायतको सरकारी अस्पतालमा कोरोना परीक्षण गरेका यात्रुको रिपोर्ट नेपालको फर्म्याटमा हुनुपर्ने भनेर उनीहरुलाई कतार एयरवेजका कर्मचारीले विमानस्थलमै रोकेर दुःख दिएका हुन् ।

बुधवार लन्डनस्थित हिथ्रो विमानस्थलमा पुगेका बाग्लुङका आस्ताराम शर्मा र विष्णु शर्मालाई एयरलाइन्सका प्रतिनिधिले एकाएक निराश बनाइदिए । शर्मा दम्पतीलाई कतार एयरवेजका कर्मचारीले कोभिड–१९ परीक्षणको रिपोर्ट देखाउन भने । उनीहरुले बेलायतको राष्ट्रिय हेल्थ सर्भिस (एनएचएस) ले दिएको कोभिड–१९ नेगेटिभ टेष्ट रिपोर्ट देखाए । एनएचएसको होइन, नेपाल सरकारको फर्म्याटमा कोडिभ–१९ को टेष्ट चाहिने भन्दै एयरवेजका कर्मचारीले शर्मा दम्पत्तीलाई बोर्डिङ पास दिन इन्कार गरेका थिए ।

‘हामीले कतार एरवेजका कर्मचारीलाई कोरोना परीक्षण गरेको रिपोर्ट देखायौँ । उनीहरुले त हाम्रो साथमा भएको रिपोर्ट मान्य नहुने भन्दै काठमाडौं स्टार हस्पिटलको जस्तै फर्म्याट चाहिन्छ भने,’ आस्तारामले डिसी नेपालसँग भने, ‘काठमाडौंको जस्तो फर्म्याट बेलायतबाट कसरी ल्याउनु ? हामीजस्तै एक दर्जन यात्रु हेरेका हेर्यै भयौं । सबै धर्ना बस्ने अवस्था आयो । एयरलाइन्सका कर्मचारीले तिमीहरुको सरकारको निर्देशन हो मान्नै पर्यो भन्दै तर्किन खोजे ।’ स्थिति तनावपूर्ण हुँदै गएपछि विमानस्थल भित्रै झण्डै सरकारविरुद्ध नारा लगाउने अवस्था आएको उनले बताए ।

कतार एयरवेजले काठमाडौंका लागि उडान भर्न लागेका सबै यात्रुलाई काठमाडौं सानेपाको स्टार हस्पिटल मोलिकुलर ल्यावमा परिक्षण गरेको कोभिड–१९ टेष्ट रिपोर्टको फरम्याटमा कोरोना टेष्ट रिपोर्ट देखाउनु पर्ने भन्दै करिब १ दर्जन यात्रुलाई विमास्थलमै रोकेको लण्डनमा क्रियाशिल नेपाली पत्रकार चिरन शर्माले डिसी नेपालाई जानकारी दिए । ती कर्मचारीले स्टार हस्पिटलको रिपोर्टमा जस्तै एनएचएसको रिपोर्टमा आरडीटी पीसीआर (पीसीआर मात्रले नहुने), घाँटी र नाकबाट स्वाव लिएको, ल्याव टेष्टको मिति समय र नतिजा नेगेभिट भन्ने बाक्यांश अनिवार्य देखिनु पर्ने तर्क गरेका थिए । तर यहाँको राष्ट्रिय हेल्थ सर्भिसले दिने पीसीआर रिपोर्टमा भने कोभिड–१९ को नजिता नेगेटिभ भएको मात्र उल्लेख गर्ने गरेको छ ।

बेलायतको प्राइभेट ल्यावबाट ६ सय पाउन्ड आपतकालिन कोभिड टेष्टको पीसीआर रिपोट नेगेटिभ ल्याएका अर्का एक नेपाली यात्रुलाई समेत तिनै कर्मचारीले बोर्डिङपास दिन आनाकारी गरेपछि उनको जहाज नै छुटेको थियो । गत आइतबार कतार एयरवेजमार्फत नेपालतर्फ उडान गरेका सबै यात्रुले बेलायतको राष्ट्रिय हेल्थ सर्भिस (एनएचएस) को रिर्पोटकै आधारमा नेपाल जान अनुमति दिएको सोही विमानमार्फत् नेपाल पुगेकी यात्रु टिका गिरीको भनाइ छ ।

पट्यार लाग्दो लामो लकडानपछि खुलेको नियमित उडानमार्फत् कोरोना भाइरस टेष्टको नजिता नेगेटिभ देखाउँदा पनि एरलाइन्सले दुःख दिएको भन्दै नेपाल फर्किन लागेका यात्रु आक्रोशित भएका थिए । उनीहरुले बेलायतको राष्ट्रिय हेल्थ सर्भिस विश्वविख्यात र उत्कृष्ट गरेको बताउँदै नेपाल सरकारले एनएचएसको कोभिड रिपोर्टलाई मान्यता नदिनु लज्जास्पद भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

नेपाल सरकारको निर्देशन मान्नैपर्ने भन्दै कतार एयरवेजका कर्मचारीले अडान लिएका थिए । उनीहरुले चित्त नबुझे नेपाल सरकारसँग सम्पर्क गर्न भन्दै यात्रुसँग रुखो शव्द प्रयोग गरेपछि अप्ठ्यारोमा परेका उनीहरुले विमानस्थलबाटै पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईसमक्ष सिधै सम्पर्क गरेर दुखेसो पोखेका थिए ।

मन्त्री भट्टराईले लन्डनस्थित हिथ्रो विमानस्थलमा रहेका यात्रुसँग समस्या समाधान लागि पहल गर्ने आश्वासन दिएपछि अलपत्र परेका यात्रुहरु ३ घन्टा चेकिङ काउन्टरमा धर्ना बसेका थिए । मन्त्री भट्टराईको पहलपछि अन्तिम समयमा आएर कतार एरवेजका कर्मचारीले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को रिपोर्टलाई स्वीकार गर्दै नेपाल जाने यात्रुको बोर्डिङपास दिएको पत्रकार शर्माले जानकारी दिए ।

बेलायतमा कोरोना परीक्षण गरेका यात्रुको रिपोर्ट नेपालको फर्म्याटमा हुनुपर्ने भनिएपछि लण्डन विमानस्थनमा तनाव

Posted by DCnepal on Thursday, September 10, 2020




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *