सिन्धुपाल्चोकमा बाढी पहिरो, अरु कति वस्ती छन् जोखिममा?

काठमाडौं। आइतबार बिहानै अप्रिय घटना सुनियो – सिन्धुपाल्चोकमा पहिरो। यो वर्ष बाढी पहिरोले निकै जनधनको क्षति ब्यहोरेको सिन्धुपाल्चोकका लागि शनिबारको रात पनि काल नै बनेर आयो। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका दुईस्थानमा शनिबार राती पहिरो गयो। नगरपालिका–७ घुम्थाङको नागपुजेमा र भीरखर्कमा। यी दुई ठाउँमा गएको पहिरोमा परी आइतबार बेलुकासम्म ११ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने २० जना अझै बेपत्ता छन्।

यसअघि बाह्रबिसेकै लार्चामा पनि पहिरो जाँदा ठूलो मानवीय क्षति भएको थियो। हालसम्म सिन्धुपाल्चोकमा यो वर्ष एकसय ११ जनाभन्दा धेरैको मृत्यु भइसकेको छ। दुई दर्जनभन्दा धेरै हराइरहेका छन्।

शनिबार राती गएको पहिरो अन्तिम भने होइन। अझै यहाँका धेरै वस्ती पहिरोका जोखिममा छन्। पहिरोको जोखिम यथावत छ। २०७२ मा महाभूकम्प गएपछि गठन भएको राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले गरेको अध्ययनमा सिन्धुपाल्चोकका ७१ वटा वस्ती जोखिममा रहेको भन्दै ती वस्तीलाई सुरिक्षत स्थानमा स्थानान्तरण गर्नुपर्ने भनेको थियो।

तर, यो पाँच वर्षको अवधिमा त्यसरी वस्ती सार्ने काम भने निकै सुस्त भयो। समयमै वस्ती स्थानान्तरण नगरेकाले सिन्धुपाल्चोकले यो वर्ष सयभन्दा धेरै मानिसको क्षति व्यहोरेको छ, धान सम्पत्तिको क्षतिको विवरण भने यकिन हुन सकेको छैन।

गएको जेठमा सदा झै यो वर्ष पनि हुन सक्ने सम्भावित प्राकृतिक विपत्तिको क्षति कम गराउने भन्दै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला दैवि तथा प्राकृतिक प्रकोप विपद् व्यवस्थापन समितिको बैठक बस्यो। र क्षति हुन नदिने निर्णय गर्यो। कागजमा गरेको निर्णयले क्षति रोकिने कुरा भएन। जुलाई ८ मा जम्बुमा बाढी पहिरो जाँदा सिन्धुपाल्चोकमा यो वर्ष बाढी पहिरोको क्षति हुन शुरु भयो। भदौ २७ गते राती शनिबारसम्म यो क्रम जारी छ।

यहीक्रममा सिन्धुपाल्चोकको लिदीमा पहिरोले क्षति गरेपछि जिल्ला विपद वयवस्थापन समितिको बैठक बसेर सिन्धुपाल्चोकका जोखिम वस्तीहरुबारे पहिचान गर्ने निर्णय गर्यो। प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा जोखिममा रहेका वस्तीबारे अध्ययन गर्न समिति बनाइयो। सो समितिले अध्ययन पुरा गरेर प्रतिवेदन पनि दिइसकेको छ।

प्रमुख तामाङले आफूहरुले प्रतिवेदन तयार पारेको डिसी नेपाललाई जानकारी दिए। उनले हाल जिल्लाका ८ वटा वस्ती स्थानान्तरण गर्नुपर्ने निश्षर्क निकालेको जानकारी दिए। उनका अनुसार हेलम्बुको महांकाल बुल्दे, पाँचपोखरी थांपाल गापाको टिपिने, मेलम्ची नपाको थकनी, जुगल गापा लिदी, जुगलकै बोल्दे, ब्राहविसेको बगाम, भोटेकोशीको लार्चालाई स्थानान्तरण गर्नुपर्ने निश्कर्ष निकालिएको उनले बताए।

उनले यी मध्ये केही वस्तीहरु भने अस्थायी रुपमा स्थानान्तरण गरिएकोसमेत जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘पुननिर्माण प्राधिकरणले रेड जोनमा राखेका वस्तीमात्र नभएर अन्य वस्तीहरुमा यो वर्ष पहिरो गएको छ। सिन्धुपाल्चोकको समग्रह अध्ययन हुनुपर्ने देखिन्छ।’
उनले प्राधिकरणले रेड जोनमा राखिसकेपछि पनि स्थानान्तरण भने हुन नसकेको बताए। उनले भने, ‘हाम्रो काम गराईको तरिका अलि सुस्त छ। कानूनी प्रक्रिया पनि लेन्दी छन्। मानिसहरु पनि तत्काल वस्ती छोड्न तयार हुँदैनन्। त्यसैले पनि वस्ती सार्ने काम सहज भएको छैन। यद्यपी वस्ती सारेको भए यति क्षति हुने थिएन।’

पुनर्निमाण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भूकम्पपछि भएको अध्ययनमा २६ जिल्लाका ११०२ वस्तीको अध्ययन गर्दा २९९ वस्तीका ४८०० घरपपरिवार स्थानान्तरण गर्नुपर्ने भनी पहिचान गरिएको बताए। उनले सो अध्ययनपछि हालसम्म दुई तरिकाले वस्ती स्थानान्तरण गरिएको बताए। एकीकृति वस्ती अनुसार न्यून स्थानान्तरण भएको उनको भनाई छ। प्राधिकरणले २ लाख नगद रुपैयाँ दिएर पनि वस्ती स्थानान्तरण गराउँदै आएको छ। यसअनुसार भने करिब २८ सय परिवारले पैसा लिएको उनले बताए। उनका अनुसार रेड जोनमा परेका अझै २ हजार घरपरिवार जोखिममै छन्। अझ नयाँ जोखिम वस्तीबारे भने अध्ययन नै भएको छनै। त्यसैले बाढी पहिरोले अझै क्षति गर्ने लगभग पक्का छ।

बाढी पहिरोले व्यापक जनधनको क्षति हुनुमा भूउपयोग नीति नै नहुनु रहेको विज्ञहरु बताउँछन्। पहिरोकै विषयमा विद्यावारिधि गरेका विपत् विद् त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा। सुवोध ढकाल मानवीय क्रियाकलाप संवेदनशील नबन्दा ठूलो क्षति भइरहेको बताउँछन्। उनले डिसी नेपालसँग भने, ‘एक त हाम्रो देशको अवस्थिति नै संवेदनशील अवस्थामा छ। त्यसमाथि मानवीय क्रियाकलाप पनि संवेदनशील भएनन्। अझ भू उपयोग नीति नै नहुँदा ठूलो जनधनको क्षति हुन पुगेको छ।’ उनका अनुसार नेपालको भू अवस्थिति बिच भागमा पर्छ। त्यो भनेको अहिले पनि पृथ्र्वीमा भइरहेको हलचलको बिच भाग हो। यहाँ हिमाल पहाड बन्नेक्रम जारी छ। गतिशील भूभागमा नेपाल अवस्थित छ। त्यसमाथि भिरालो जमीन पनि एक कारण हो।
सहायक प्रध्यापक डा। ढकालले भने, ‘भू उपयोग नीति बनेर सोहीअनुसार मानवीय क्रियाकलाप हुने हो भने पहिरो गए पनि क्षति न्यूनीकरण गर्न सकिन्छ।’

उनले त गाउँगाउँमा भइरहेको डोजरे विकास पनि पहिरोको एक कारण रहेको बताए। उनले भने, ‘स्थानीय तहहरुमा सडक बनाउने प्रतिस्पर्धा छ। यहाँ बायो इन्जिनियरिंगको कुरा नै लागु भएको छैन। डोजरले पहाडलाई छिया छिया बनाएको छ। सडक बनाउँदा निस्केको माटो व्यवस्थापन भएको छैन। त्यसैले पनि पहिरोको जोखिम बढाएको छ।’

वर्षा हरेक वर्ष हुन्छ, क्षति पनि हरेक वर्ष हुन्छ। सरकारले भने हरेक वर्ष क्षति कम गर्न प्रयास गरिएको बताउँछ। तर, किन क्षति हरेक वर्ष बढिरहेको छ तरु उत्तरमा डा ढकाल भन्छन्, ‘सरकारले कन्ट्रोल नै गर्न सकेको छैन। भू उपयोग नीति नै लागु गरेको छैन। खोलाको किनारा हुँदै सडक बनाउने र त्यहिँ बस्ती बस्ने प्रचलनले गर्दा पनि क्षति भएको छ। भू उपयोग नीति ल्याएर सोहीअनुसार बस्ती बसालेको भए विकासका गतिविधिले प्रकृतिमाथि पार्ने प्रतिकुल प्रभाव पनि कम गर्न सकिन्थ्यो। पहिरो गइहाले पनि क्षति कम हुन्थ्यो। अहिले स्थानीय तहहरुले निर्माण गर्ने सडक नियन्त्रण गर्नु पर्यो। बायो इन्जिनियरिंगको उपयोग हुनु पर्छ।’

सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख तामाङले पनि बाढ िपहिरोले धेरै क्षति हुनुमा सडक निर्माण एक मुख्य कारण रहेको बताए। उनले डिसी नेपालसँग भने, ‘वडा अध्यक्षहरु डोजर लिएर गाउँ गाउँ जान्छन्। यो डोजरले सडक बनाउँदा निस्केको माटो व्यवस्थापन नहुँदा पनि क्षति भइरहेको छ। शनिबार रातीको पहिरो पनि यसकै कारण हो।’

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो