पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक दुवैतर्फी सञ्चालन, सावधानीपूर्वक यात्रा गर्न आग्रह

डिसी नेपाल
१८ साउन २०८३ ११:३१

चितवन। नारायणगढ-मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर यातायात दुवैतर्फी सञ्चालनमा ल्याइएको छ। सोमबार बिहान सो सडक खण्डका विभिन्न ठाउँमा लेदोसहित पहिरो खस्दा सवारी आवागमन प्रभावित बनेको थियो।

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलोमा लेदोसहितको पहिरो खसेको थियो। जसमध्ये तुइनखोला, नाम्सी र सिमलतालमा सडक एकतर्फी बनेको थियो भने अन्य स्थानमा लेदो खसेर सडक किनारमा थुप्रिएको थियो।

सडकमा थुप्रिएको पहिरो हटाएपछि बिहान १०:०० बजेदेखि यातायात पूर्ण रूपमा सुचारु भएको छ। तुइनखोलाको पहिरो त्यहाँ निर्माणाधीन कम्पनी आफैँले हटाएको हो भने अन्य ठाउँको पहिरो पन्छाउन मुग्लिन र सेतीदोभानमा रहेका उपकरणहरू प्रयोग गरिएको थियो।

हाल सो सडक खण्डमा सिमसिम पानी परिरहेकाले जुनसुकै बेला पुनः पहिरो खस्ने जोखिम कायम छ। जोखिमलाई ध्यानमा राख्दै डिभिजन सडक कार्यालयले सवारी चालक तथा यात्रुहरूलाई सतर्कता अपनाएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *