सवारी दुर्घटना गराउनेमा २५ देखि ४० वर्ष उमेर समूहका चालक बढी

डिसी नेपाल
१६ साउन २०८३ १९:३६

चितवन। बागमती प्रदेशमा सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका रहेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले दिएको जानकारी अनुसार उपत्यकाबाहेक प्रदेशभित्र भएका कुल एक हजार ९२४ वटा सवारी दुर्घटनामध्ये ५४ प्रतिशत अर्थात् एक हजार ४२९ वटा दुर्घटना सोही उमेर समूहका चालकका कारण भएका छन् ।

युवा पुस्तामा सवारी साधन तीव्र गतिमा हाँक्ने हुटहुटी र जोस बढी हुनु नै यस उमेर समूहका चालकबाट बढी दुर्घटना हुनुको मुख्य कारण रहेको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले बताएका छन् । कार्यालयको तथ्याङ्क अनुसार १६ देखि २५ वर्ष उमेर समूहका चालकले २५ प्रतिशत अर्थात् ६७९ वटा दुर्घटना गराएका छन् भने ४० वर्षमाथिका सवारी चालकबाट पनि सोही अनुपातमा दुर्घटना भएको पाइएको छ ।

दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको सङ्ख्यामा पनि २५ वर्षभन्दा माथिल्लो उमेर समूहका मानिसहरू नै बढी रहेका छन् । सो उमेर समूहका २६७ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् । यसैगरी, १६ देखि २५ वर्ष उमेर समूहका ५९ जना, ६ देखि १६ वर्ष उमेर समूहका सात जना र ६ वर्षभन्दा कम उमेरका सात जना बालबालिकाको पनि दुर्घटनामा परी मृत्यु भएको छ । दुर्घटनामा घाइते हुनेहरूको सङ्ख्या पनि लगभग यही अनुपातमा रहेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिएका छन् ।

गत आर्थिक वर्षमा विभिन्न कारणले भएका दुर्घटनाहरूको विवरण पनि निकै चिन्ताजनक रहेको छ । गत वर्ष मात्रै तीव्र गतिका कारण एक हजार ४१ वटा, चालकको लापरबाहीले २४० वटा, यात्रुको गल्तीले १५४ वटा, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ११२९ वटा र यान्त्रिक गडबडीका कारण १२१ वटा दुर्घटना भएका छन् । यसैगरी, सडकको खस्कदो अवस्थाका कारण १०७ वटा, जथाभाबी ओभरटेक गर्दा ७२ वटा, मौसमको खराबी तथा चौपायाका कारण १० वटा, ओभरलोडका कारण आठ वटा र अन्य विभिन्न कारणले ३८ वटा दुर्घटना हुन पुगेका छन् ।

उल्लेखित तथ्याङ्क प्रस्तुत गर्ने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले काठमाडौँ उपत्यकाबाहेक बागमती प्रदेशका अन्य १० वटा जिल्लाहरूको ट्राफिक व्यवस्थापन तथा सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *