आफूखुशी राहत नबाँड्न बाह्रविसे नगरपालिकाकाे सार्वजनिक अपिल

डिसी नेपाल
३० भदौ २०७७ ७:५१

सिन्धुपाल्चोक । घुम्थाङ भिरखर्क–नागपुजे पहिरोपीडितका लागि दाताहरुले राहत लिएर आउने क्रम शुरु भएपछि बाह्रबिसे नगरपालिकाले विषम परिस्थितिको ख्याल गर्दै भीड जम्मा गरेर आफूखुशी राहत नबाँड्न सार्वजनिक अपिल गरेको छ। स्वास्थ्य सुरक्षाको ख्याल गर्दै एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भन्दै बाह्रबिसे नगरपालिकाले दाताहरुलाई नगरपालिकासँग समन्वय गर्न आग्रह गरेको हो।

कोरोना भाइरसको जोखिमका कारण भीडभाड गर्न नहुने, भौतिक दूरी कायम गर्नुपर्नेजस्ता स्वास्थ्य मापदण्ड पालना गरेर पहिरोपीडितलाई नगरपालिकाले राहत उपलब्ध गराउने बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए। “पीडितको घाउमा राहतको मलमपट्टी लिएर आउनुहुने दातालाई नगरपालिकासँग समन्वय गर्न आग्रह गरेका हौँ”, प्रमुख शेर्पाले भने।

एकद्वार प्रणालीमा पहिरोपीडितका आश्रयस्थलमा राहत पुर्याउने नीतिअनुरुप समन्वयका लागि दाताहरुलाई आग्रह गरिएको उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन्। “परिस्थिति अलि जटिल छ, राहत सामग्रीसँगै पहिरोपीडितका बस्तीमा कोरोना भाइरसले प्रवेश नगरोस् भनेर समन्वयका लागि अपिल गरिएको हो”, पाख्रिनले भनिन। बाह्रबिसे नगरपालिकाले आइतबार साँझ नै पीडितको अस्थायी बासका लागि ४५ थान टेन्ट नागपुजे पुर्याएको छ । पीडित विस्थापितलाई टेन्टमा राखिएको छ। राससं




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *