विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन शुरु

डिसी नेपाल
१ असोज २०७७ १८:०८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन शुरु गरेको छ । महानगरपालिकाको राजश्व विभागले पछिल्लो समय कोभिड–१९ को महामारी बढ्दै गएपछि सेवाग्राहीले घरमै बसेर प्रविधिको प्रयोगमार्फत राजश्व दाखिला गर्ने व्यवस्था मिलाएको हो ।

काठमाडौँ महानगरपालिका–२६ वडा कार्यालय लैनचौरमा आज महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत एकनारायण अर्यालले उक्त सेवाको शुभारम्भ गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अर्यालले महानगरपालिकाको सातौँ अधिवेशनले कर प्रणालीलाई विद्युतीय प्रणालीमार्फत थालनी गर्ने निर्णय गरेअनुसार आजदेखि महानगरका वडामा विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन शुरु गरिएको जानकारी दिए ।

“विश्वको बदलिँदो परिस्थिति र कर प्रणाली झन्झटिलो भयो भन्ने महानगरवासीको गुनासोलाई सम्बोधन गर्न विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्न लागेका हौँ,” उनले भने । विद्युतीय प्रणालीमार्फत सेवा दिएसँगै विदेशमा बसेरसमेत कर तिर्न सकिने उनको भनाइ छ ।

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गरेसँगै जनताले घरमै बसेर सेवा लिनसक्ने भएकाले वडा कार्यालयमा भीडभाडसमेत कम हुने उल्लेख गरे । काठमाडौँ महानगरपालिकाले शुरु गरेको उक्त सेवा देशभरका स्थानीय तहलाई काम लाग्ने उनको भनाइ थियो ।

काठमाडौँ महानगरपालिका राजश्व विभागका प्रमुख गुणनिधि न्यौपानेले करदातालाई थप सेवा पुर्याउने उद्देश्यले उक्त प्रविधिको शुरुआत गरिएको जानकारी दिए । असोजभित्र काठमाडौँका ३२ वटै वडामा उक्त प्रविधि जडान गरिसक्ने उनको भनाइ थियो ।

साङ्ग्रिला इन्फरमेटिक्स प्रालिले उक्त सफ्टवेयर निर्माण गरेको हो । प्रालिका अध्यक्ष वसन्त वनले घरमै बसेर विभिन्न माध्यमबाट कर तिर्नसकिने भएकाले सानो कामका लागि वडा कार्यालय धाउन नपर्ने बताए ।

महानगरपालिकाले आजदेखि महानगरपालिकाका १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ वडा कार्यालयबाट विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन शुरु गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *