वैकल्पिक सिकाइमा अपाङ्गता भएका बालबालिकाको पहुँच कमजोर

डिसी नेपाल
२ असोज २०७७ २२:१८

काठमाडौं । वैकल्पिक माध्यमबाट पढाइ हुनु अपाङ्गता भएका बालबालिकालाई सकारात्मक भए पनि यस प्रक्रियालाई थप अपाङ्गतामैत्री बनाउन सुझाव दिइएको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले ‘वैकल्पिक सिकाइ प्रणालीमा अपाङ्गता भएका विद्यार्थीको सवाल’ विषयक आज आयोजना गरेको भर्चुअल छलफलमा सरकारले सञ्चालन गरेको वैकल्पिक सिकाइ प्रणालीलाई त्यस्ता बालबालिकाका लागि थप सहज हुने गरी प्रभावकारी बनाउन स्रोत, साधन र पहुँचमा ध्यान दिनुपर्ने जनाइएको हो । महासङ्घका महासचिव राजु बस्नेतका अनुसार महासङ्घले गरेको प्रारम्भिक सर्वेक्षणमा अधिकांश अपाङ्गता भएका बालबालिका यस सिकाइ प्रक्रियामा सहभागी हुन नसकेको र उनीहरु एक प्रकारले मनोसामाजिक समस्यामा रहेको पाइएको बताए ।

अध्ययनले विद्यालयको सेवा क्षेत्र स्पष्ट नभएको र इ लर्निङ पोर्टलमा राखिएका सामग्री उपुक्त ढाँचामा नभएको जनाइएको छ । उनले विशेषगरी श्रवणदृष्टिबिहिन, बहिरा बौद्धिक, अटिजम भएका बालबालिकालाई विशिष्टिकृत डिभाइस, श्रव्य सामग्री, दोभासे तथा साङ्केतिक भाषाका सहयोगी आवश्यक पर्ने जनाउँदै इन्टरनेटमा पनि सहुलियत दिन आग्रह गरे ।

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका नारद धमलाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले वैकल्पिक माध्यमलाई मूलधारमा गणना गरिएकाले सूचना र प्रविधिमा पहुँच नभएका बालबालिकाको पहिचान गरी उनीहरुको आवश्यकतानुसार उचित सम्बोधनका लागि पहल भइरहेको जनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *