बालबच्चा बोकेर धमाधम मुग्लान पस्दै नेपालीहरु

खेमराज थापा
४ असोज २०७७ १७:१३

काठमाडौं। छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणले दिनदिनै विश्व रेकर्ड बनाइरँदा नेपालबाट भारतमा कामका लागि जाने नेपालीहरुको संख्या भने बढिरहेको छ। पश्चिम नेपालका पहाडी जिल्लाबाट बालबच्चा, महिला, पुरुषहरु भारततर्फ गइरहेका छन्। परिवारसहित उनीहरु भारततर्फ गइरहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अन्तर्गत पर्ने दुई वटा नाका गड्डाचौकी र गौरिफन्टाबाट यो भदौको ४ दिनमा मात्र ३ हजार ४ सय ८२ जना नेपालीहरु भारततर्फ गएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ।

कञ्चनपुर जिल्ला प्रशासन कार्यालयका अनुसार दुईवटा नाकाबाट नेपाल आउने नेपालीहरुको भन्दा भारततर्फ जाने नेपालीहरुको संख्या धेरै छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार आइतबार गड्डाचौकी नाकाबाट महिला २४, पुरुष ११८ र बालबालिका १४ गरी १५६ जना नेपाल भित्रिएका छन्। त्यस्तै महिला ११, पुरुष १०८ र बालबालिका ६ जना गरी १२५ जना भारततर्फ गएका छन्।

यस्तै आइतबार गौरीफन्टा नाकाबाट महिला ५२, पुरुष १७४ र बालबालिका ६ जना गरी २२५ जना नेपाल भित्रिएका छन्। सोही नाकाबाट आइतबार महिला ११४, पुरुष ७८८ र बालबालिका ८९ जना गरी ‍‍९९१ जना नेपालीहरु भारततर्फ गएका छन्।

यस्तै शनिबार भदौ ३ गते गड्डाचौकी नाकाबाट महिला २९, पुरुष ८१ र बालबालिका ६ जना गरी ११६ जना नेपाल आएका छन् भने सोही नाकाबाट महिला ५, पुरुष ७७ र बालबालिका ६ जना गरी ८८ जना भारततर्फ गएका छन्।

यस्तै कञ्चनपुर अन्तर्गतको अर्को नाका गौरीफन्टाबाट शनिबार भदौ ३ गते महिला ८२, पुरुष २२२ र बालबालिका ६२ जना गरी ३६६ जना नेपाल भित्रिएका छन् भने महिला १३८, पुरुष ७३७ र बालबालिका ३३ जना गरी ‍‍१००८ जना भारततर्फ गएका छन्।

भदौ २ गते गड्डाचौकी नाकाबाट महिला ११, पुरुष ४० र बालबालिका ९ जना गरी ६० जना नेपाल आएका छन् भने महिला १४, पुरुष ५१ र बालबालिका ८ जना गरी ७३ जना भारततर्फ गएका छन्।

भदौ २ गते गौरीफन्टा नाकाबाट महिला ६०, पुरुष १३५ र बालबालिका ५१ जना गरी २४६ जना नेपाल आएका छन् भने, महिला ७१, पुरुष ४३९ र बालबालिका ४६ जना गरी ५५६ जना भारततर्फ गएका छन्।

भदौ १ गते गड्डाचौकी नाकाबाट महिला १४, पुरुष ५० र बालबालिका १६ जना गरी ८० जना नेपाल आएका छन् भने महिला १३, पुरुष ४१ र बालबालिका ६ जना गरी ६० जना नेपाल आएका छन्।

भदौ १ गते गौरिफन्टा नाकाबाट महिला १०२, पुरुष ३०२ र बालबालिका ९५ जना गरी ४९९ जना नेपाल आएका छन् भने महिला ८२, पुरुष ४३२ र बालबालिका ६७ जना गरी ५८१ जना भारततर्फ गएका छन्।

जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा महिला र बालबालिका पनि भारततर्फ गएको देखिएकोले नेपालीहरु परिवारसहित नै भारतर्फ गएको देखिएको छ। कञ्चपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महताले केही नेपालीहरु परिवारसहित नै भारततर्फ गएको बताए। उनले डिसी नेपालसँग भने, ‘सबैलाई जान दिएका छैनौं। भारतको आधार कार्ड भएकालाईमात्र जान दिएका हौं।’

पश्चिम नेपालको पहाडी जिल्लाहरुका नेपालीहरु कामका लागि हरेक वर्ष भारततर्फ जाने गर्छन्। प्रायः नेपालमा चाडपर्वको बेला घर आउने र खेतबारीको काम सकिएपछि कामका लागि भारततर्फ जाने प्रचलन छ। यो पटक लकडाउन कारण भारत जाने सिजनमा भारत जान नपाएकाहरु सरकारले नाका खुकुलो पारेसँगै धमाधम भारत गइरहेका छन्। भदौ १पछि सार्वजनिक यातायात खुलेकाले यो संख्या अझै बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी महतोले बताए। उनले भने, ‘अब गाडी खुलेपछि पहाडी जिल्लाबाट पनि मानिसहरु आउनेक्रम बढ्छ।’

पहाडी जिल्लाका मानिसहरुको प्रमुख रोजगार गन्तव्य भारत हो। त्यसमा पनि भारतका पहाडी जिल्लाहरु जहाँ निर्माणको काम हुने गर्छ। स्याउ बगैचाको काम पनि नेपालीहरुले नै गर्नेगछन्। भारतमा लामो समय बस्नेहरुले उताको आधार कार्ड लिने गरेका छन्। नेपालीहरुले भारतमा आधार कार्ड सजिलै पाउँछन्। अहिले जिल्ला प्रशासन कार्यालयले सोही आधार कार्डको आधारमा उनीहरुको बसोबास भारतमै रहेको भन्दै भारत जान अनुमति दिइरहेको छ। आधार कार्ड नभएकाहरु भने सीमा पार गर्न पाएका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *