नेकपामा केन्द्रीय सदस्यलाई दिइने भनिएको भत्ताका लागि कहाँबाट जुटाइन्छ स्रोत?

डिसी नेपाल
४ असोज २०७७ १९:१७

काठमाडौं। सत्तारुढ दल नेकपामा पार्टीका केन्द्रीय सदस्यहरुलाई मासिक भत्ता दिने प्रस्ताव गरिएको छ। आइतबार कोटेश्वरस्थित पेरिसडाँडामा बसेको पार्टी सचिवालयको बैठकमा केन्द्रीय सदस्यहरुलाई भत्ता दिने विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘पूर्णकालिन कमरेडहरुलाई केही दिन सकिन्छकी भनेर छलफल भएको छ। सबैलाई दिने कुरा होइन। जसको नियमित आयस्रोत छैन, उहाँहरुलाई दिनुपर्छ भन्ने हो। कम्युनिष्ट पार्टीमा यस्तो पहिला पनि थियो।’

नेकपाको केन्द्रीय कमिटी हाल ४४७ सदस्यीय छ। तर, ती सबैलाई भने भत्ता नदिइने प्रवक्ता श्रेष्ठले बताए। उनले भने, ‘उहाँहरु सबैलाई दिने भनेको होइन, कोही मन्त्री हुनुहुन्छ, कोही सांसद हुनुहुन्छ। उहाँहरुलाई दिने कुरा छैन।’

प्रवक्ता श्रेष्ठले अहिले नै भत्ता कतिजनालाई दिनुपर्छ र कति खर्च हुन्छ भन्ने हिसाब भने नभएको बताए। उनले आइतबारको बैठकमा यो विषयले प्रवेशमात्र पाएको निर्णय भने भइनसकेको बताए। उनले नेकपाको आफ्नो आयस्रोतबाट भत्ता दिइने बताए। उनले भने, ‘हाम्रो त लेबी उठाउने सिस्टम छ। त्यहिँबाट व्यवस्था गर्ने हो। अरु स्रोत त पार्टीको के हुन्छ र?’

नेकपामा पार्टीबाट निर्वाचति जनप्रतिनिधि, मन्त्रीहरु तथा कार्यकर्ताहरुबाट नियमित शुल्क उठाउने गरिन्छ। सोही शुल्कबाट पूणकालीन केन्द्रीय सदस्यहरुलाई भत्ता दिने प्रस्ताव गरिएको हो।

प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी सदस्यहरुलाई भने त्यस्तो भत्ताको व्यवस्था ती कमिटीले आफै गर्नुपर्ने प्रवक्ता श्रेष्ठले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *