चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता, खोजी जारी
चितवन। चितवनमा बेपत्ता हुने व्यक्तिको संख्या पछिल्ला वर्षहरूमा लगातार बढ्दै गएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै ७६४ जना बेपत्ता भएको भन्दै प्रहरीमा निवेदन दर्ता भएको छ। तीमध्ये ६७५ जनालाई विभिन्न स्थानबाट सकुशल फेला पारेर परिवारको जिम्मा लगाइएको भए पनि ८९ जना अझै सम्पर्कमा आउन सकेका छैनन्। उनीहरूको खोजी कार्य निरन्तर जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बेपत्ता भएका व्यक्तिहरूको खोजीका लागि प्रहरी टोलीले नियमित रूपमा अनुसन्धान र खोजतलास गरिरहेको छ। उनका अनुसार कतिपय व्यक्ति नारायणी नदीमा हामफालेर बेपत्ता हुने गरेका छन्। तर, नदीमा हामफालेको जानकारी तत्काल प्राप्त नहुँदा उनीहरू हराएको सूचीमा समावेश हुने गरेका छन्।
पौडेलका अनुसार घरबाट हराएका केही व्यक्ति पछि आफैं घर फर्किए पनि प्रहरीलाई जानकारी नदिने प्रवृत्ति पनि देखिएको छ। सुरुमा निवेदन दिँदा उपलब्ध गराइएको मोबाइल नम्बर पछि परिवर्तन हुने वा सम्पर्कविहीन हुने कारणले पनि वास्तविक अवस्था पुष्टि गर्न कठिन हुने गरेको उनले बताए। यही कारण बेपत्ता व्यक्तिको तथ्याङ्क अपेक्षाकृत बढी देखिने गरेको उनको भनाइ छ।
प्रहरीको तथ्याङ्कले पछिल्ला तीन आर्थिक वर्षमा बेपत्ता हुनेको संख्या क्रमशः बढ्दै गएको देखाउँछ। आर्थिक वर्ष २०८०/८१ मा ४८७ जना बेपत्ता भएको निवेदन परेको थियो। तीमध्ये ४७५ जना फेला परेका थिए भने १२ जनाको खोजी जारी रहेको थियो। आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर ५५३ पुगेको थियो। तीमध्ये ५४० जना फेला परेका थिए भने १३ जनाको खोजी अझै जारी थियो। गत आर्थिक वर्षमा भने बेपत्ता हुनेको संख्या बढेर ७६४ पुगेको हो।
यसैबीच, चितवनमा घरेलु हिंसासम्बन्धी उजुरीको संख्या भने अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। गत आर्थिक वर्षमा घरेलु हिंसाका ३८१ वटा निवेदन प्रहरीमा दर्ता भएका थिए। तीमध्ये ३०५ वटा मिलापत्रमार्फत टुङ्ग्याइएको छ भने ७१ वटा मुद्दा अदालतमा दर्ता भएका छन्। पाँच वटा निवेदन भने अझै छलफल र प्रक्रियामै रहेका छन्।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा घरेलु हिंसाका ५४२ वटा निवेदन दर्ता भएका थिए। तीमध्ये ४६९ वटा मिलापत्र भएका थिए भने ७३ वटा अदालत पुगेका थिए। आर्थिक वर्ष २०८०/८१ मा ४९० वटा घरेलु हिंसाका उजुरी दर्ता भएकामध्ये ४११ वटा मिलापत्र भएका थिए भने ७९ वटा अदालतमा दर्ता भएका थिए।
गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा ठाडा उजुरीको संख्या पनि उल्लेख्य रहेको छ। प्रहरीका अनुसार वर्षभरिमा दुई हजार ३०५ वटा ठाडा उजुरी दर्ता भएका थिए। तीमध्ये एक हजार ८७८ वटा जिल्ला प्रहरी कार्यालयमा प्रत्यक्ष दर्ता भएका थिए भने ४२७ वटा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएका थिए। कुल उजुरीमध्ये दुई हजार १०८ वटा मिलापत्रमार्फत फर्छ्योट गरिएको छ भने १९७ वटा उजुरी अझै समाधान हुन बाँकी रहेका छन्।
प्रहरीले बेपत्ता व्यक्तिको खोजीलाई अझ प्रभावकारी बनाउँदै लगिएको जनाएको छ। साथै, घर फर्किएका व्यक्तिले तत्काल प्रहरीलाई जानकारी गराउन र परिवारका सदस्यले पनि सम्पर्कमा आएपछि सूचना दिन आग्रह गरिएको छ। यसबाट बेपत्ता व्यक्तिको वास्तविक तथ्याङ्क अद्यावधिक गर्न र खोजी कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने प्रहरीको विश्वास छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment