नेपालीसँग माफी मागी मिचेको भूमिबाट तत्काल फिर्ता जाऊ चीन

डिसी नेपाल
५ असोज २०७७ ९:१३

अत्यन्त सुमधुर सम्बन्ध भएको छिमेकी भनेर आम नेपालीले विश्वास गर्दै आएको उत्तरी छिमेकी देश चीनले नेपालको दुर्गम सीमा क्षेत्र हुम्लाको लाप्चा लिमीमा नेपाली जमीन मिचेर भवनहरु बनाएको कुरा सार्वजानिक भएको छ। यो समाचारसँगै एउटा छिमेकीको सीमा मिचाइ र थिचोमिचोबाट आहत भएका नेपालीहरुका लागि अर्को पीडा थप भएको छ र नेपालीमाथि थिचोमिचो गर्नेमा चीन पनि थपिएको छ।

केही महिनाअघि मात्र चीनले नेपालका केही गाउँहरुको जमिन मिचेको समाचार सार्वजानिक हुँदा नेपाल सरकारको परराष्ट्र मन्त्रालयले नै एक विज्ञप्ति जारी गरी नेपालको सीमा चीनले नमिचेको स्पष्ट पारेको थियो। तर, अहिले चीनसँगको सीमा जोडिएको हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी नै त्यो क्षेत्रको भ्रमणमा गएको र त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी दत्तबहादुर हमाल र सम्बन्धित गाउँ पालिकाका प्रमुखले सो क्षेत्रमा पुगी सीमा मिचेको अवस्था प्रमाणित गरिसकेका छन्।

जसअनुसार, चीनले नेपाली भूमि मिचेर ९ वटा भवनहरु बनाइसकेको छ। नेपाली टोली पुग्दा कोरोना महामारीमा संक्रमितहरु राख्नका लागि क्वारिन्टिनका लागि भवन निर्माण गरेको जानकारी त्यहाँका स्थानीयलाई दिइएको कुरा पनि सार्वजानिक भएको छ। तर, न त हुम्ला जिल्लाको सो गाउँको स्थानीय सरकारलाई चीनको सो निर्माणबारे जानकारी छ न त जिल्ला प्रशासन कार्यालय र उसमार्फत नेपाल सरकारसँग नै चीनले कुनै समन्वय गरेको छ।

चीनलाई नेपाली भूमि मिचेर क्वारिन्टिनका लागि भवन बनाउनु पर्ने आवश्यकता किन पर्यो? के ९ वटा भवन बनाएर आफ्ना जनता राख्न सक्ने ठाउँ चीनसँग छैन र नेपाली भूमि मिच्नु परेको हो? वा नेपाली भूमिमाथि गिद्धे दृष्टिकै लागि सो काम चीन सरकारले गरेको हो? कुरा स्पष्ट छ, चीनजस्तो विशाल देशका लागि भूमिको समस्या छैन ।

भनेपछि प्रष्ट छ कुरा नियतको हो। यदि नेपालको भूमि प्रयोग नै गर्ने हो भने पनि उसले नेपाल सरकारसँग अनुमत माग गर्न सक्थ्यो। दिनु नदिनु अलग कुरा हुन्थ्यो तर चीनको इमान्दारिता र असल छिमेकीपन त्यसमै झल्किन्थ्यो। चीनले त्यसो गरेन।

चीनलाई नेपाली भूमि मिचेर क्वारिन्टिनका लागि भवन बनाउनु पर्ने आवश्यकता किन पर्यो? के ९ वटा भवन बनाएर आफ्ना जनता राख्न सक्ने ठाउँ चीनसँग छैन र नेपाली भूमि मिच्नु परेको हो? वा नेपाली भूमिमाथि गिद्धे दृष्टिकै लागि सो काम चीन सरकारले गरेको हो? कुरा स्पष्ट छ, चीनजस्तो विशाल देशका लागि भूमिको समस्या छैन । भनेपछि प्रष्ट छ कुरा नियतको हो।

हुम्लाको सो क्षेत्र सामान्यतया नेपालका प्रशासनिक निकायको नजर नपुग्ने दुर्गम क्षेत्र हो। त्यहाँ पुग्न पनि सजिलो छैन नेपालको साइडबाट तर चीनले आफ्नो साइडबाट सीमा क्षेत्र नजिकबाट बाटो घाटो बनाइसकेको छ। नेपालीको नजर पुग्न नसकेकै कारण सीमा मिच्नु जायज हुन सक्दैन भन्ने कुरा चीनले नबुझेको होला र?

भूगोलको हिसावले चीन र भारतका बीचमा रणनीतिक महत्वसहित बसेको नेपालको भूमि दक्षिणी छिमेकी भारतले बर्षौंदेखि मिच्दै आएको र त्यसबाट मुक्ति पाउन नेपाली जनताले पटक पटक आन्दोलनहरु गर्नुपरेको कुराबाट सीमा मिच्ने लाइनमा थप भएको अर्को छिमेकी देश चीन पूर्णतया जानकार छ।

नेपालीमाथि थिचोमिचो गरेकै आधारमा नेपाली जनताहरुमा भारतविरोधी भावना छ र चीनप्रति सहानुभूति पनि। तर, हुम्लाको यो घटना सार्वजानिक भएपछि चीन पनि नेपाली जनताको राष्ट्रवादी भावनामाथि चोट पुर्याउन कस्सिएर आएको देखिएको छ।

हो, सीमा सुरक्षाका सन्दर्भमा भौगोलिक विकटताका कारण नेपाल सरकारले यथेष्ट सुरक्षाको प्रबन्धसहित आफ्नो फौज उत्तरतिरका हरेका स्थानहरुमा पुर्याउन सकेको छैन र हिमपात हुने सिजनमा त त्यहाँ टिक्न पनि मुस्किल नै छ। यसो भन्दैमा विश्वको शक्तिशाली देशमध्येको एक चीनले आफ्नो सहृदयी सानो छिमेकीमाथि थिचोमिचो कुनै हालतमा सैह्य हुन सक्दैन।

प्रचण्ड बहुमत पाएर पनि नेपाल सरकार नेपालको सीमा रक्षामा कमजोर देखिएको कुरा चीनको यो भूमि मिचाइले देखाएको छ। किनकि सीमा क्षेत्रको निरन्तर निगरानीको अभावले नौ नौवटा भवन बनुन्जेलसम्म पनि नेपालले त्यसबारे थाहा पाउन सकेन। जतिसुकै दुर्गम वा विगट भूभाग होस् मुलुकको त्यहाँसम्मको सीमाना निगरानीको व्यबस्था सरकारको दायित्व हो।

यसबारे चीनसँग कुटनैतिक पहल तत्काल शुरु गरेर स्पष्टताका साथ आफ्नो भूमि खाली गराउने भूमिका खेल्नु अत्याबश्यक छ। र, त्यो भूमिकाका बारेमा नेपाली जनतालाई जानकारी दिनु पनि आवश्यक छ। चीनले पनि जवाफ दिनुपर्छ कि किन उसले नेपाली भूमि मिचेको हो?

र, ती घरहरु भत्काएर ऊ कहिले त्यहाँबाट फिर्ता जान्छ? यतिमात्रै होइन, नेपाल सरकारको नजर नपुग्दैमा नेपालको भूमि मिच्ने दुस्साहस गरेकोमा चीनले औपचारिकरुपमा नेपाल सरकार र नेपाली जनतासँग क्षमा माग्नुपर्छ र आफ्ना सामानका पोका पुन्तुरा पारेर नेपालको भूमि तत्काल छोड्नुपर्छ।

अन्यथा नेपालीहरुमा भएको राष्ट्रवादी भावना चोट पुग्ने र त्यो चीनविरुद्धको आन्दोलनमा रुपान्तरित हुन कुनै बेर लाग्ने छैन। र, विश्वमा शक्तिशाली मुलुकहरुको आपसी विवाद बढ्दै गएको परिप्रेक्ष्यमा सामरिक हिसावले नेपाल निकै महत्वपूर्ण बन्दै गएको छ। यो अवस्थामा नेपाल र उसका जनता चीनविरुद्ध उत्रने अवस्था आउनु चीनका लागि पनि कुनै  कोणबाट सुखद विषय हुनसक्दैन भन्ने  चीनले बुझ्नु जरुरी छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *