सुरु भयो आन्तरिक हवाइ उडान

डिसी नेपाल
५ असोज २०७७ १२:५५

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक ट्रमिनलबाट देश भित्रका लागि उड्ने हवाई जहाज सोमबार विहानैदेखि उड्न थालेका छन्। सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनका कारण अन्तर्राष्ट्रियसँगै आन्तरिक हवाई उडान पनि स्थगित भएका थिए।

चाडवाड नजिकिन थालेपछि सरकारले आन्तरिक हवाई उडान र लामा दुरीका सवारी साधन पनि सञ्चान गर्ने निर्णय गरेको थियो। असोज १ गतेदेखि सञ्चालनका लागि अनुमति दिएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान भने ५ गते (आज) देखि सुचारु भएका हुन्।

बिमानस्थलले विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य मन्त्रालयले बनाएको सुरक्षा मापदण्डलाई आधार मानेर सुरक्षा व्यवस्था अपनाएको छ। डोमेस्टिक ट्रमिनल छिर्ने ठाउँमा सामाजिक दुरी कायम गर्न मार्किङ गरिएको छ। प्रवेशद्वारमै सेनिटाइजर राखिएको छ।

तर, सर्वसाधारणले भने सेनिटाइजर र मार्किङलाई ध्यान नदिएको पाइएको छ। स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार दुई मिटरको दुरीमा पर्ने गरी मार्किङ गरिएको छ। सेनिटाइजर र मास्कलाई अनिवार्य गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले आवश्यक सबै तयारी पूरा गरेपछिमात्र उडान सुरु गरिएको जानकारी दिए। उनले भने, ‘हामीले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले बनाएको स्वास्थ्य प्रोटोकल अनुसारको स्वास्थ्य सुरक्षा व्यवस्था गरेर र सबै यात्रुलाई सुरक्षित गर्नका लागि सुरक्षाका मापदण्डहरु प्रयोग गरेरमात्र उडानको थालनी गरेका हौं।’

लामो समयससम्म थन्किएका विभिन्न कम्पनीका हवाई जहाजहरु आज चरा सरी आकाशमा उडेका छन्। करिव ६ महिनाको लामो प्रतिक्षा पनि यात्रुहरुले सहजै आफ्नो यात्रा तय गर्न पाएका छन्।

विशेष अवस्थाको स्वास्थ्य मापदण्ड तयार पारेर आन्तरिक उडानको तयारी गरिएको महाप्रवन्धक केसीले जानकारी दिए। उनका अनुसार नागरिक उड्डयन प्राधिकरणले आइतबार काठमाडौंसहित सबै विमानस्थलका लागि ९ वटा वायुसेवा कम्पनीहरुलाई उडान तालिकासहित अनुमति दिएको छ।

बुद्ध एयरका एक कर्मचारीका अनुसार स्वास्थ्य प्रोटोकल जहाज भित्र पनि लागू हुने छ। उनले भने, ‘सिट क्षमता अनुसार नै यात्रु बोके पनि हामीले मास्क, सेनिटाइजर जस्ता स्वास्थ्यका अत्यावश्यक कुरालाई पूर्ण रुपमा पालना गर्न लगाउने छौं।’

पूरै क्षमतामा यात्रु राखेर उड्न पाउने भएपछि मात्र हवाई उडान संञ्लालकहरुले हवाई उडान थालेका हुन्। यस अघि सरकारले यात्रु क्षमताको ५० प्रतिशतमात्र यात्रु बोक्न पाउने गरी नियम लागू गरेको थियो।

लामा दुरीका यात्रुवाहाक सवारी साधनले ५० प्रतिशत यात्रु कम राखेर ५० प्रतिशत भाडादर वृद्धि गरी सञ्चालन गरेका छन्। तर, हवाई उडानको हकमा भने सञ्चालकहरुले पूरै सिटक्षमतामा यात्रु बोक्न पाउनु पर्ने माग राख्दै आएका थिए।

चाडवाड नजिकिँदै जाँदा उडान सूचारु गरेकोले घर जान पाइएकोमा यात्रुहरु खुसि देखिन्छन्। कोरोना महामारीको त्रास कायम रहे पनि सरकारले चाडपर्वलाई ध्यानमा राखी आन्तरिक उडान र लामो दुरीका सवारीका साधनहरु सूचारु गरेको हो।

प्राधिकरणका अनुसार सोमबार पहिलो दिन काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज, सुर्खेतबाट ५४ वटा उडानलाई अनुमति दिइएको छ। प्राधिकरणले सोमबार बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगम (आन्तरिक)लाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई ५, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी सोमबार ५४ वटा उडानलाई अनुमति दिइएको छ।

आन्तरिक उडानमा सबै वायुसेवाले जहाजको यात्रु क्षमताअनुसार, टिकट बिक्री गर्न पाउनेछन्। विमानस्थलमा यात्रुहरुले अब आफू स्वस्थ्य रहेको फारमसहित विस्तृत विवरण भरेर बुझाउनु पर्ने नियम छ। त्यस्तै पहिलेको दाँजोमा उडान सयम भन्दा कम्तीमा दुईदेखि डेढ घन्टाअघि नै विमानस्थल पुग्नु पर्ने छ।

स्वास्थ्यका सबै मापदण्ड कडाइका साथ पालना होस् भनेर सामान्य अवस्थामा दैनिक रूपमा हुँदै आएका उडानको २५ प्रतिशत मात्र विमान सञ्चालनमा आउनेगरी अनुमति दिइएको प्राधिकरणले जनाएको छ।

सबै तस्वीर : रमण मानन्धर।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *