चीनले नेपाली भूमिमा भवन बनाएकोबारे गृह मन्त्रालयलाई पठाएको प्रतिवेदनमा के छ ?

खेमराज थापा
६ असोज २०७७ १८:४६

काठमाडौं। चीनले नेपाली भूमि अतिक्रमण गरी भवन बनाएको विषयमा अनुगमन टोलीले जिल्ला प्रशासन कार्यालय हुम्लामा जानकारी दिएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले गएको भदौ २४ मा संघीय गृह मन्त्रालयमा प्रतिवेदन पठाएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार हुम्ला जिल्ला प्रशासन कार्यालयले पठाएको सो प्रतिवेदनमा चीनले नेपालको हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ मा पर्ने लाप्चा उपत्यकामा अनाधिकृत भवन बनाएको पाइएको उल्लेख गरिएको छ।

प्रतिवेदनमा सहायक प्रमुख जिल्ला अधिकारी दत्तबहादुर हमाल, नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङलगायत ४२ जनाको टोलीले अनुमगन गरेर दिएको प्रतिवेदनका आधारमा चीनले नेपाली भूमिमा अनाधिकृत भवन बनाएको जानकारी दिइएको छ। सो टोली भदौ १४ देखि १९ गतेसम्म सो क्षेत्रको अनुगमनमा गएको थियो। सो टोलीले नेपाली भूमि मिचेको प्रारम्भिक प्रदिवेदन दिएपछि गएको शनिबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीलगयात ४ वटा सुरक्षा अंगका जिल्लास्थित प्रमुखहरुको टोली लाप्चा क्षेत्रको अनुगमनमा गएको छ। सो टोली अनुगमनबाट फर्किसकेको छैन।

स्रोतले डिसी नेपालसँग भन्यो, ‘प्रतिवेदनअनुसार नेपाली टोली र चिनियाँ सुरक्षाकर्मीबीच लाप्चा क्षेत्रमा चार पाँच पटक लुकामारी भएको देखिन्छ।’ प्रतिवेदनमा नेपाली टोलीलाई देखेपछि चिनियाँ सुरक्षाकर्मी त्यहाँबाट भाग्ने र नेपाली टोली नदेखेपछि सो भवन बनाएको स्थानमा आउने गरेको उल्लेख छ। पहिला चिनियाँ प्रहरी सो भवन रहेको क्षेत्रमा रहेको र नेपाली टोलीलाई देखेपछि उनीहरु त्यहाँबाट भागेको जनाइएको छ।

त्यसपछि चिनियाँ जनमुक्ति सेना (पीएलए)को टोली त्यहाँ आएको देखेपछि नेपाली पुनः त्यहाँ जान खोज्दा उनीहरु फेरि भागेको उल्लेख गरिएको छ। प्रतिवेदनमा चीनले लाप्चामा नेपाली भूमिमा ९ वटा भवन बनाएको उल्लेख गरिएको गृह मन्त्रालयले स्रोतले जानकारी दियो।

गृह स्रोतका अनुसार जिल्ला प्रशासनबाट चीनले नेपाली भूमिमा भवन बनाएको विषयमा प्रतिवेदन दिएपछि सो प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाइएको छ। तर, परराष्ट्रका अधिकारीहरुले भने यो विषयमा बोल्न मानेनन्।

स्रोतका अनुसार लाप्चा क्षेत्रमा चीनले भवनमात्र होइन सडक पनि बनाएको छ। खाद्यन्न आपूर्ति गर्न भन्दै चीनले नेपाली भूमिमा सडक बनाएको अनुगमनमा गएका एकजनाले डिसी नेपाललाई जानकारी दिए।

उनले भने, ‘चीनले त्यहाँ सडक बनाएको छ। यहाँ नेपाल सरकारको उपस्थिति नै नभएपछि उनीहरुले नेपाली भूमि अतिक्रण गरेका छन्। उनीहरुले नेपाललाई हेपे जस्तो अनुभव भयो।’
चीनले अतिक्रमण गरेको स्थानबाट सबैभन्दा नजिकको नेपाली चेकपोस्ट नाम्खा गाउँपालिकाको सुनखानीमा छ। सुनखानी सो भवन बनाएको क्षेत्रबाट करिब ६० किलोमिटरको दूरीमा रहेको जनाइएको छ। यस्तै हुम्ला सदरमुकाम सिमटीकोटबाट करिब १०० किलोमिटर उत्तरमा रहेको छ। स्रोतका अनुसार नेपाल–चीन सीमा छुट्याउने दुईवटा सीमा स्तम्ध सो क्षेत्रमा थिए। पिल्लर नम्बर ११ र १२। तर, हाल पिल्लर नम्बर ११ भने भेटिएको छैन। सो पिल्लर हराएको छ। १२ नम्बर पिल्लरमात्र फेला परेको छ।

सहायक सीडीओलाई गृह सचिवको खप्की

हुम्लामा चीनले नेपाली भूमि मिचेर भवन बनाएको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तबहादुर हमालले गृह सचिबको खप्की खानुपरेको छ। गृह स्रोतकाअनुसार मंगलबार गृह सचिब महेश्वर न्यौपानेले सहायक प्रजिअ हमाललाई फोन गरे सूचना सञ्चार माध्यममा दिएको भन्दै चेतावनी थिए। यो विषयमा परराष्ट्र मन्त्रालय बोल्नु पर्ने भन्दै उनले सहायक प्रजिअ हमालले सूचना दिएको भन्दै मौखिम स्पष्टीकरण लिएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *