चिनियाँ दूतावास र सेनाले भने – ‘चीनले भवन बनाएको भूभाग चीनकै हो’

डिसी नेपाल
७ असोज २०७७ ९:५८

काठमाडौं। हुम्लाको लाप्चामा चीनले नेपाली भूभाग अतिक्रमण गरेर भवनहरु बनाएको दावीको चीनले खण्डन गरेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार राती एक विज्ञप्ति जारी गर्दै चीनले भवन बनाएको भूभाग चीनकै भएको उल्लेख छ । दूतावासले आफ्नो तर्फबाट भवनहरु रहेको क्षेत्र चीनकै भएको प्रमाणीकरण गरिएको र यदि नेपालले चाहेमा थप प्रमाणीकरण गन सक्ने बताएको छ । चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको दूतावासले जनाएको छ ।

उता भवन बनाइएको क्षेत्रमै रहेको चिनियाँ सेनाले पनि उक्त भूभाग चीनकै रहेको दावी गरेको छ । हुम्ला सदरमुकामबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसँग चिनियाँ पक्षले नेपाली भूमिमा नभएर आफ्नै भूभागमा भवनहरू बनाएको दाबी गरेको एक नेपाली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । चिनियाँ सेनाले उक्त भवनहरू रहेको स्थान आफ्नो भूमाग भएको बताएपछि उक्त विषयमा दुई पक्षबीच वार्ता गर्ने अवस्था नभएको अध्ययन टोलीमा सहभागी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बीबीसीसँग बताएका छन् ।

उनका अनुसार नक्सामा भवन बनेको क्षेत्र नाम्खा गाउँपालिकाको भूभागमा देखिन्छ । विगतमा अहिले भवन बनेको ठाउँभन्दा परसम्म गएर नेपाली श्रमिकहरूले बाटो बनाएको उनको भनाइ छ । सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एउटा टोली स्थलगत अध्ययनका लागि गएको थियो । त्यहाँ हराइरहेको सीमा स्तम्भ पहिचान गर्नुपर्ने र उक्त क्षेत्रमा देखिएको सीमा विवाद कूटनीतिक ढंगले हल गर्नुपर्ने सुझाव दिने अधिकारीहरूले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *