लाप्चा अनुगमनमा गएको टोली चिनियाँ सेनाले फर्काएपछि हिल्सातर्फ लाग्यो

खेमराज थापा
७ असोज २०७७ १२:१४

काठमाडौं। हुम्लाको लाप्चा क्षेत्रको नेपाली भूमिमा चीनले भवन बनाएको विषयमा बुझ्न त्यहाँ गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीसहितको टोली लाप्चामा चिनियाँ सेनाले फर्काइदिएपछि हिल्सातर्फ लागेको छ।

गएको भदौ १४ देखि १९ सम्म सहायक प्रमुख जिल्ला अधिकारी दत्तबहादुर हमालसहित ४२ जनाको टोलीले लाप्चा क्षेत्रको अनुगमन गर्दा चीनले नाम्खा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने लाप्चा उपत्यकामा ९ वटा भवन बनाएको फेला पारेको थियो। त्यसपछि प्रारम्भिक प्रतिवेदन गृह मन्त्रालयमा पठाएर प्रमुख जिल्ला अधिकारी गिरी जिल्लास्थित चारवटै सुरक्षा अंगका प्रमुखहरुलाई लिएर गएको शनिबार लाप्चातर्फ लागेका थिए।

लाप्चामा चिनियाँ सेनाले नेपाली टोलीलाई भवन बनेको स्थानसम्म पुग्न नदिएर फर्काइदिएको अनुगन टोलीसँगै रहेका नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताए।

तामाङले डिसी नेपालसँग भने, ‘हाम्रो टोली भवन बनेको स्थान नजिकै पुगेर चिनियाँ पक्षसँग सम्पर्क गर्यो। पहिला सिभिलियनसँग सम्पर्क गरिएको थियो। पछि चिनियाँ जनमुक्ति सेनाका दुई ट्रक त्यहाँ पुगे। र माइकिंग गरे। उनीहरुले हामी भएको भूमिसमेत चिनियाँ भूमि भएको दावी गर्दै सीमाका विषयमा वार्ता गर्ने भए १ किलोमिटर पछाडि फर्किन भने।’

त्यसपछि स्थिति सामान्य नहुने देखिएपछि चिनियाँ पक्षसँग वार्ता नगरी नेपाली टोली त्यहाँबाट फर्केको उनले जानकारी दिए। उनका अनुसार नेपाल–चीन सीमा छुट्याउने सीमामा रहेको ११ नम्बर पिल्लर हराएपछि सीमामा समस्या उत्पन्न भएको छ। अहिलेसम्म १२ नम्बर पिल्लरमात्र फेला परेको छ। सो पिल्लरका आधारमा भवन बनाएको क्षेत्र कुन देशको पर्छ भन्ने यकिन गर्न नसकिएको उनले बताए।

तर, भवन बनाएको स्थानभन्दा २ किलोमिटर उत्तरतर्फ नेपाली यसअघि नै कच्ची सडक बनाएकाले सो भूमि नेपालकै भएको अध्यक्ष तामाङले बताए।  ११ नम्बर पिल्लर हराएपछि प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोली पिल्लर नम्बर १० रहेको हिल्सातर्फ लागेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *