अमृत ब्राण्डको म्याद नाघेको तेल विक्री गरिँदै

डिसी नेपाल
७ असोज २०७७ १६:५९

काठमाडौं। अमृत ब्राण्डको तोरी र सनफ्लावर तेलका १४० कार्टुन तेल साबुन फ्याक्ट्रीलाई बिक्री गरेर बिल महानगरमा पठाउन अन्नपूर्ण भेजिटेवल प्रोडक्सनलाई निर्देशन दिइएको छ।

महानगरको उपभोक्ता हित संरक्षण समितिले बुधबार गरेको अनुगमन टोलीले काठमाडौं महानगरको वडा १३ रवि भवन आदर्शनगरमा रहेको गोदाममा राखिएका व्याच नं. १७ मा उत्पादन भएका, उपभोग्य मिति सकिएका ५१ कार्टुन सनफ्लावर तेल फेला पारेको थियो। १ बर्ष उपभोग्य मिति भएको तेलको उत्पादन मिति २०७६ असोज लेखिएको थियो। बजारमा पठाउन अयोग्य भइसकेकाले योसँगै बिक्री अयोग्य सामान राख्ने ठाउँमा भएका ८९ कार्टुन तोरीको तेल साबुन फ्याक्ट्रीमा बिक्री गरेर बिल महानगरमा पठाउन निर्देशन दिइएको हो।

वितरक सञ्जय खण्डेवाल भन्दै थिए, ‘यो फिर्ता पठाउने नै सामान हो। हामी बजारमा पठाउँदैनौं। हामीलाई बिश्वाश गर्नोस्। हाम्रो व्राण्डको कुनै पनि म्याद सकिएको तेल बजारमा छैन।तपाईहरुले एक कार्टुन मात्र भेट्नुभयो भने हााम्रो कम्पनी नै सिल गरिदिए पनि हुन्छ। यो तेल फिर्ता गर्न राखिएको हो।’

अनुगमन टोलीका सदस्यले प्रश्न गरे, ‘कम्पनीमा पठाएका सामान मिति परिवर्तन गरेर बजारमा आउँदैनन् भन्ने ग्यारेन्टी के हुन्छ?’ खण्डेवालले उत्तर दिए, ‘यो तेल साबुन बनाउन बिक्री हुन्छ।’ उनको जवाफपछि अनुगमन टोलीले साबुन फ्याक्ट्रीमा बिक्री गरेको बिल लिएर महानगरमा आउन निर्देशन दिएर फर्किए। भण्डारण कक्षमा तेल पोखिएर कालो भएकोले यसलाई नियमित सफाइ गर्नुपर्ने, कम्पनी दर्ता र यसले गर्ने काम सम्बन्धी विवरण राख्नुपर्ने पनि टोलीले निर्देशन दिएको छ।

टोलीले बुधबारै वडा नम्बर १५ गैरी गठ्ठाघरमा रहेको आरसा फुड एण्ड स्पाइसेसको गोदाम निरीक्षण गरेको थियो। असोज ६ गते खुशिँवु क्षेत्रमा अनुगमन गर्दा चितवन दाजुभाइ टे«डर्समा बेच्न राखिएको २७ प्याकेट अजिनामोटोको मूल्य मेटिने खालको भेटिएको थियो। अनुगमनका क्रममा ती सबै प्याकेट नष्ट गरेर सामान वितरण गर्ने व्यापारीको खोजी थालिएको थियो। यही क्रममा आरसा फुडबाट वितरण हुने सामाग्री भण्डारण हुने ठाउँमा टोली पुगेको हो।

टोलीसँग सञ्चालक रविन कायस्थ श्रेष्ठले भने, ‘म भ्याटमा कारोबार गर्छु। गोदाममा राखिएका सामान सबै ठिक छन्। मूल्य सूची राख्ने मेसिनको मसीमा खराबी भएको हो। यसमा मेरो गलत मनसाय केही छैन। प्याकेटमा मूल्य राख्दा बोराको मूल्य राख्ने गरेको छु। उनले हिजो प्याकेजिङ गरिएका अजिनामोटोका प्याकेज देखाउँदै आफूलाई प्रमाणित गर्न खोजे।

त्यस क्रममा प्लाष्टिकमा मूल्य प्रिन्ट गर्न लगाएर प्रिन्ट भएको अक्षर मेटिन्छ कि मेटिन्न परीक्षण गरियो। हिजो खुशिँवुमा भेटिएको प्याकेट र आज प्रिन्ट गरिएका प्याकेटको मेटिने अवस्था उस्तै भेटियो। कायस्थलाई खाद्य अनुज्ञा पत्र लिन, व्यवसाय स्थलमा परिचय पाटी राख्न, ढक तराजु राख्न, नमेटिने गरी मूल्यको लेवल राख्न निर्देशन दिएर टोली फर्कियो।

कायस्थका अनुसार उनी महिनामा करीब ५ हजार किलोग्राम अजिनामोटो बिक्री गर्छन्। काठमाडौंमा उनी जस्तै १० जना व्यापारी छन्। ती व्यापारीले कायस्थभन्दा धेरै व्यापार गर्छन्। यस हिसाबले हेर्दा काठमाडौंमा मासिक ५० हजार किलोग्रामभन्दा धेरै अजिनामोटो खपत हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *