‘लाप्चा क्षेत्रमा चीनले भवन बनाएको भूमि चीनकै हो’

डिसी नेपाल
७ असोज २०७७ २०:०५

काठमाडौं। सरकारका प्रवतक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हुम्लाको लाप्चा क्षेत्रमा चीनले भवन बनाएको भूमि चीनकै रहेको बताएका छन्। बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भने, ‘नेपालको हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपालमा घर बनाएको भनेर समाचार सम्प्रेषण भएका छन्। यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । स्थलगत अध्ययनका लागि टोली गएको छ।’

उनले सीमाभन्दा एक किलोमिटर उत्तरतर्फ चीनले भवन बनाएको दाबी गरे। उनले भने, ‘यस्तैखालका समाचार सम्प्रेषण २०७३ सालमा पनि भएको रहेछ । त्यतिबेला अन्तरमन्त्रालय छानबिन समिति खडा गरेर त्यसले स्थलगत अध्ययन गरेर आएको प्रतिवेदनमा एक किलोमिटर चिनियाँ भूभागमा संरचना बनाएको पाइएको रहेछ।’
उनले नेपाल र चीनबीच कुनै सीमा समस्या नरहेकोसमेत बताएका छन्।

सीमा नजिकै चीनले संरचना निर्माण गरेको भनिएपछि निरीक्षणका लागि हुम्लाबाट सरकारी अधिकारी र सुरक्षा निकायका प्रतिनिधि गएको पनि मन्त्री ज्ञवालीले जानकारी दिए । उनले थप विषय उक्त टोली आएपछि पत्ता लाग्ने बताए।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तबहादुर हमालसहितको टोली गएको भदौ १४ देखि १९ सम्म लाप्चा क्षेत्रमा गएको थियो। सो टोलीमा नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ पनि थिए। सो टोलीले चीनले नेपाली भूमिमा ९ वटा भवन बनाएको जानकारी दिएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले गृह मन्त्रालयलाईं प्रतिवेदन पनि पठाएको थियो। हाल सो क्षेत्रको अनुगमनका लागि गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीसहितको टोली लाप्चा क्षेत्रबाट फर्केर हिल्सातर्फ गएको छ।

यसैबीच परराष्ट्र मन्त्रालयले बुधबार साँझ स्टेटमेन्ट जारी गर्दै चीनले नेपाली भूमिमा नभई आफ्नै भूमिमा भवन बनाएको जनाएको छ। र चीनसँग कुनै सीमा विावद नरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *