राष्ट्रपतिको ट्वीटमा कमेन्ट गर्न निषेध !

डिसी नेपाल
९ असोज २०७७ ८:१८

काठमाडौं। पछिल्लो समय समाजिक सञ्जाल ट्वीटर निकै लोकप्रिय बन्दै गएको छ। राजनीतिज्ञदेखि सेलिब्रेटीसम्म ट्वीटरमा सक्रिय रहन्छन्। बेला बेलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्वीटले विवादसमेत सृजना गर्ने गरेको छ।

छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ट्वीटरमा निकै सक्रिय रहन्छन्। उनले हरेक सूचना ट्वीटरमार्फत सार्वजनिक गर्ने गर्दछन्। ट्रम्प र मोदीको ट्वीटरमा आलोचनाले भरिएको धेरै कमेन्ट आउँछन्, ती आलोचनापूर्ण कमेन्टलाई उनीहरुले स्वीकार गरेको देखिन्छ।

विश्वका राजनीतिज्ञदेखि सरकार प्रमुख र राष्ट्रप्रमुख ट्वीटरमा सक्रिय भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी अप्रिल २०१८ देखि ट्वीटमा जोडिएकी छन्। राष्ट्रपति भण्डारीलाई १८ हजार ४ सय जनाले ट्वीटरमा पछ्याएका छन् तर राष्ट्रपति भण्डारीले कसैलाई पनि पछ्याएकी छैनन्।

राष्ट्रपतिले गर्ने ट्वीटमा लाइक रिट्वीट र कमेन्ट गर्नु स्वाभाविक नै हो। राष्ट्रपति भण्डारीले अगस्ट ३१ मा भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दुख व्यक्त गर्दै ट्वीट गरेकी छन्। उक्त ट्वीटमा ९५ वटा कमेन्ट आएका छन्। १ सय ६६ जना रिट्वीट गरेको उक्त ट्वीटलाई एक हजार ६ सय जनाले लाइक गरेका छन्।

राष्ट्रपति भण्डारीको सो ट्वीटपछिका अन्य ट्वीटमा कमेन्ट गर्न नमिल्ने बनाइएको छ। राष्ट्रपति भण्डारीले सेप्टेम्बर ३ मा गरेको ट्वीटपछिका अन्य कुनै पनि ट्वीटमा कमेन्ट गर्न नमिल्ने बनाइएको छ। राष्ट्रपतिले हालसम्म ४० वटा ट्वीट गरेकी छन्।

राष्ट्रपतिले गरेको ट्वीटमा अभद्र, गालीगलौज र हेर्नै नमिल्ने कमेन्ट आउन थालेपछि विचार गरेरै कमेन्ट गर्न नमिल्ने बताएको शितल निवास स्रोतले जनाएको छ। ‘कतिपय कमेन्ट हेर्न र सहनै नसकिने देखिएपछि विचार गरेरै तत्कालका लागि राष्ट्रपतिज्यूको ट्वीटमा कमेन्ट गर्न नमिल्ने बनाइएको हो,’ स्रोतले भन्यो, ‘केही साथीहरुले केही समय कमेन्ट गर्न नमिल्ने बनाउन सुझाव पनि दिनु भएको थियो। केही समय हेरौं कस्तो हुन्छ भनेर अहिले सोच विचार गरेरै कमेन्ट गर्न नमिल्ने बनाएको हो।’

संविधानले वाक स्वतन्त्रतालाई मौलिक हकमा राखेको अवस्थामा राष्ट्रप्रमुखसँग सर्वसाधारणले साक्षात्कार गर्ने माध्यमलाई बन्द गरेको भन्दै आलोचना भइरहेको बेला राष्ट्रपति कार्यालयले भने सृजनात्मक र स्वस्थ टिकाटिप्पणीको सधैं अपेक्षा गरिएको जनाएको छ।

‘विभिन्न अवसरमा राष्ट्रपति कार्यालयबाट जारी गरिने विज्ञप्ति वा राष्ट्रपतिज्यूले गर्ने ट्वीटजस्ता सामाग्रीमा सृजनात्मक र स्वस्थ प्रतिक्रियाको अपेक्षा गरेका छौं,’ राष्ट्रपतिका स्वकीय सचिव डा.भेषराज अधिकारीले डिसी नेपालसँग भने।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *